
काठमाडौं, २१ चैत-जबरजस्ती करणी (बलात्कार) महिलाविरुद्धको जघन्य हिंसा (अपराध) हो । महिलामाथि हुने बलात्कारजस्ता घटना बढ्नुमा पुरुषको मनोवृत्तिलाई प्रमुख कारण मानिन्छ । तर नेपाल प्रहरीको एक अध्ययनले भने बलात्कारसँग सम्बन्धित घटनामा मौसमको समेत प्रभाव रहको देखाउँछ ।
नेपाल प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा भएका बलात्कारका घटनामा गरेको अध्ययनअनुसार बर्सातको मौसम शुरु भएपछि बलात्कारका घटना बढेको देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा कूल ११२ घटना घटेकोमा ५२ वटा घटना बर्सातको मौसममा घटेका छन् ।
‘जेठ महिना लागेपछि बलात्कारका घटनामा वृद्धि भएको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापा भन्छन्,’ सबैभन्दा बढी असार महिनामा बलात्कारका घटना घटेका छन् ।’
प्रहरीको तथ्याङ्क अनुसार असार महिनामा १५ वटा बलात्कारका घटना घटेका छन् । त्यसपछि साउन महिनामा १४ र जेठ महिनामा १३ बलात्कारका घटना घटेका छन् । यस्तै भदौ महिनामा १० वटा बलात्कार घटेका छन् ।
असोज लाग्दा बलात्कारका घटनामा कमी आएको देखिन्छ । असोज महिनामा ९ वटा बलात्कारका घटना घटेका छन् । यद्यपि कात्तिक लाग्दा बलात्कारका घटना बढेको देखिन्छ । प्रहरीका अनुसार कात्तिक र मंसिर महिनामा समान १२–१२ बलात्कारका घटना घटेका छन् ।
वर्षभरिमा बलात्कारका सबैभन्दा कम घटना माघ महिनामा घटेको प्रहरी तथ्याङ्कले देखाउँछ । प्रहरीको तथ्याङ्क हेर्दा माघ महिनामा २ वटा बलात्कारका घटना घटेका छन् ।
बलात्कारीमा विवाहित पुरुष बढी
प्रहरी अध्ययनका अनुसार महिलामाथि हुने बलात्कारको घटनामा विवाहित पुरुषको संलग्नता बढी देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा भएका कूल बलात्कारका घटनामा संलग्न रहेको भन्दै प्रहरीले ११० जना पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विवाहित पुरुषको संख्या बढी देखिएको डीएसपी थापा बताउँछन् ।
पक्राउ परेकामध्ये ४७ जना विवाहित पुरुष छन् । डीएसपी थापाका अनुसार महिलामाथि हुने बलात्कारका घटनामा २६ देखि ३५ वर्ष समूहका विवाहित पुरुषको संलग्नता बढी देखिन्छ । त्यसपछि १९ देखि २५ वर्ष समूहका पुरुषको संलग्नता देखिन्छ । यो उमेर समूहका पुरुषमा पनि विवाहित बढी रहेको थापाको भनाइ छ ।
प्रहरी तथ्याङ्कका अनुसार पक्राउ पर्ने पुरुषमा ११ देखि १६ वर्ष उमेर समूहका ७ जना, १७ देखि १८ वर्ष उमेर समूहका २१ जना, १९ देखि २५ वर्ष उमेर समूहका २४ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ४७ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ७ र ४६ वर्षभन्दा माथि उमेर समूहका ११ जना छन् ।
अविवाहित बालिका बढी पीडित
बलात्कारमा संलग्न पुरुषमा विवाहितको संख्या बढी भएपनि यस्ता घटनामा पीडित हुने महिला भने अविवाहित बढी छन् । त्यसमा बालिकाको संख्या बढी रहेको प्रहरी तथ्याङ्कले जनाउँछ ।
आर्थिक वर्ष २०७४ मा बलात्कारजन्य घटनाबाट पीडित बनेका महिलामध्ये ६२ जना अविवाहित बालिका छन् । विवाहित महिलाको संख्या ३३ रहेकोमा अविवाहित महिलाको संख्या १७ छ ।
आइतबार सबैभन्दा बढी बलात्कार
प्रहरीले गरेको अध्ययनअनुसार आइतवार सबैभन्दा बढी बलात्कारका घटना घट्ने गरेको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा घटेका कूल ११२ बलात्कारका घटनामा आइतवार मात्रै २१ वटा घटना घटेका छन् । त्यसपछि शनिवार १९ वटा बलात्कारका घटना घटेका छन् ।
प्रहरीले गरेको अध्ययनअनुसार आइतवार २१, सोमवार १७, मंगलवार ११, बुधवार १३, बिहीवार १७, शुक्रवार १७ र शनिवार १९ वटा बलात्कारका घटना घटेका छन् ।
२१ वर्षमा १ हजार प्रशितले बढे बलात्कारका घटना
पछिल्लो २१ वर्षमा बलात्कारका घटनामा भारी वृद्धि भएको प्रहरी अध्ययनले देखाउँछ । आर्थिक वर्षमा २०५३/०५४ मा ११२ वटा बलात्कारका घटनाको उजुरी दर्ता भएको प्रहरी तथ्याङ्कले देखाउँछ । तर आर्थिक वर्ष ०७३/०७४ मा पुग्दा बलात्कारका घटनाको संख्या १ हजार १ सय ३० पुगिसकेको छ । उक्त संख्या आर्थिक वर्ष २०५३/०५४ मा घटेका बलात्कारका घटनाको तुलनामा १००८.९३ प्रतिशतले बढी हो ।
प्रहरीले पछिल्ला ३ आर्थिक वर्षमा भएका घटनामाथि गरेको अध्ययनअनुसार बलात्कार घटनाहरू प्रतिवर्ष ८.६ प्रतिशतका दरले बढिरहेका छन् ।