१६ असार २०८३, मंगलबार

सेनाका जर्नेल र प्रहरीका एआईजीको नाम लिएर १ करोडभन्दा बढी ठगी

चैत २२, २०७४
सेनाका जर्नेल र प्रहरीका एआईजीको नाम लिएर १ करोडभन्दा बढी ठगी

काठमाडौं, २२ चैत– नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकारीको नाम लिएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

सेना तथा प्रहरीमा जागिर लगाइदिने, सुरक्षा निकायका विभिन्न मिसनमा पठाइदिने तथा युरोपियन देशमा पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लमजुङ घर भइ हाल काठमाडौंको तारकेश्वर बस्ने २८ वर्षीय मोहन दुरा, लमजुङ नै घर भइ काठमाडौंको मनमैजु बस्ने ४७ वर्षीय पशुपति अधिकारी र  तनहुँकी ४० वर्षीय यमुना खड्का तथा कास्कीका रमेश कुमाल छन् । 

उनीहरुले राष्ट्रिय अनुसन्धानको सिपाही बनाइदिने भन्दै प्रतिव्यक्ति २ लाख, सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिन्छु भन्दै ७ लाख, शान्ति सेनामा पठाइदिने भन्दै २ लाख तथा पोल्याण्ड लगायत युरोपियन देशमा पठाइदिने भन्दै १ लाख ५० हजार उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार विभिन्न व्यक्तिलाई ठगी गरेर उनीहरुले १ करोड १५ लाख रुपैयाँ उठाएका छन् । 

एआईजीकी श्रीमती हुँ भन्दै ठगी   

पक्राउ परेकीमध्ये यमुना खड्काले आफू राष्ट्रिय अनुसन्धानका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)की श्रीमती हुँ भन्दै ठगी गरेको भेटिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । 

यस्तै मोहन दुराले नेपाली सेनाको भावी महासेनानी (सैनिक प्रमुख)को खास व्यक्ति भएको र आफू सेनाको जमदार रहेको भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको एसएसपी पोखरेलले बताए । 

उनीहरुबाट करिव २ दर्जन व्यक्ति ठगीएको हुन सक्ने प्रहरीको अनुसन्धान छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्