
काठमाडौं, ५ वैशाख-शेयर बजारका लगानीकर्ताहरू नयाँ वर्षमा आशावादी देखिएका छन् । यो वर्ष वैशाख २ गते पहिलो दिन खुलेको शेयर बजारमा ४ दशमलव ७३ अंकले गिरावट आएको थियो । त्यसपछिका २ दिन मंगलबार र बुधबार शेयर बजार परिसूचक नेप्सेमा राम्रो सुधार देखिएको छ ।
मंगलबार २ दशमलव ५९ प्रतिशतले सुधार भएको नेप्से ३३ दशमलव ६१ अंकले बढेको थियो । मंगलबार १३ सय ३१ दशमलव १८ अंकमा रोकिएको नेप्सेमा बुधबार पनि उच्च सुधार देखियो । बुधबार नेप्सेमा २ दशमलव ३९ प्रतिशतले बढ्दै ३१ दशमलव ८३ अंकको सुधार भयो । बुधबार १३ सय ६३ दशमलव १ अंकमा आएर बजार बन्द भयो ।
नेपाली शेयर बजारमा बुधवार झण्डै एक वर्षयताकै उच्च कारोबार भयो । बुधबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा बजारमा एकाएक ५९ दशमलव ८६ अंकको वृद्धि भयो भने एक अर्ब १२ करोड रुपैयाँको कारोबार भयो ।
बुधबार सबै सूचक तथा उपसूचक उकालो लागेका छन् । सबैभन्दा धेरै हाइड्रोपावरको उपसूचक ६ दशमलव ९२ प्रतिशतले बढे पनि बीमा कम्पनीहरूको सबैभन्दा धेरै ३९ करोड ३४ लाख रुपैयाँको कारोबार भयो । सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्स कम्पनीको ५ करोड ९२ लाख रुपैयाँको कारोबार भयो । बुधबार सबैभन्दा धेरै ङादी पावरका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४ दशमलव २६ प्रतिशतले गुमाएका छन् ।
मंगलबार र बुधबार गरी शेयर बजारमा ४ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै ६५ दशमलव ४४ अंकले बढेको छ ।
बजारमा देखिएको उच्च सुधारलाई विश्लेषकहरूले सुखद् संकेतका रूपमा लिएका छन् । विश्लेषक दीपेन्द्र अग्रवालले सरकारको बजारलाई हेर्ने दृष्टिकोण पर्खिरहेका लगानीकर्ता बजारमा आउँदा बजारमा सुखद् अवस्था आएको बताए ।
उनले भने, ‘लगानीकर्ताहरू अन्योलमा थिए, तर नयाँ वर्षसँगै प्रधानमन्त्रीको सम्बोधन लगायतका कुराले देशले स्थिरताको बाटो समातेको स्पष्ट भएपछि लगानीकर्ताहरू बजारमा सरेका छन् । यसले अब शेयर बजारमा उच्च सुधार हुने अपेक्षा छ ।’
गत वर्षमा फर्किँदा
गत वर्ष चुनावअघि एमाले र एकिकृत माओवादी केन्द्र मिलेर बामगठबन्धन बनाउँदा लगानीकर्ता स्थिर सरकार बन्ने निश्चित भएपछि उत्साहित भए । त्यसपछिको केही समय शेयर बजारमा निकै उतारचढाव देखा पर्यो । चुनावपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्नु र बाम सरकार आउनुपूर्व पनि शेयर बजार घट्दो क्रममा देखिएको थियो ।
त्यतिबेला निराश लगानीकर्तालाई प्रधानमन्त्री बन्न लागेका समयमा केपी शर्मा ओलीले पूँजी बजारमा ठोस कदम चाल्ने भन्दै उत्प्रेरित गराएका थिए ।
वामगठबन्धनको सरकार निर्माणपछि पनि शेयर बजारमा निकै उतार चढाव देखियो । सरकारले अर्थमन्त्रीमा अर्थशास्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि बजारमा उत्साह थपिने गरिएको अपेक्षाविपरित बजार निकै तल झर्यो ।
नयाँ सरकार गठन हुने समयका बीचमा सरकार गठनपछि सकरात्मक परिवर्तनसहित बजारमा सुधार आउनेमा आम लगानीकर्ता विश्वस्त जस्तै थिए । फलस्वरूप वाम गठबन्धकका तर्फबाट सरकारको प्रधानमन्त्रीमा ओली नियुक्ति भएको दिन फागुन ३ गते साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा ३६ अंकको वृद्धि भएको थियो ।
तर बजारमा आएको त्यो वृद्धि अर्को कारोबार दिनमा नै ११ अंकले घट्न पुग्यो ।
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएको दिनदेखि अर्थमन्त्री नियुक्त भएको भएको दिनसम्ममा नेप्से परिसूचक ५० अंकले तल आइसकेको थियो ।
अर्थतन्त्रका ज्ञाता मानिएका खतिवडा अर्थमन्त्री नियुक्त भएको दिन नै बजार १५ अंकले घट्न पुग्यो । त्यसयता अपवादबाहेक अधिकांश दिन नेप्से घटि नै रह्यो ।
२०७४ मा शेयर कारोबार हुने अन्तिम दिन बजार बढेर बन्द भएको थियो । वर्षको अन्तिम दिन कारोबार भएदेखि बढेको बजार अन्त्यमा ४ दशमलव २२ अंकले बढेर १ हजार २ सय ७७ दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको थियो ।