०१ असार २०८३, सोमबार

आठ लेनको बाहिरी चक्रपथ निर्माण शुरु, यसरी बढ्दैछ काम

बैशाख १०, २०७५
आठ लेनको बाहिरी चक्रपथ निर्माण शुरु, यसरी बढ्दैछ काम

काठमाडौं, १० वैशाख– सरकारले शहरी व्यवस्थापनका लागि बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजनाको काम अघि बढेको छ ।

बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि सरकारले उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएसँँगै प्रारम्भिक कार्य शुरु भएको हो । 

मन्त्रिपरिषद्को निर्णय प्राधिकरणमा आइपुग्ने बित्तिकै काम अगाडि बढिहाल्ने प्रवक्ता केशवप्रसाद न्यौपाने बताउँछन् । जग्गा एकीकरणका लागि जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गरेपछि काम अगाडि बढ्नेछ । 

प्राधिकरणका अनुसार जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै ठूलो रकम खर्चिनुपर्ने छैन । पहिलो चरणमा पर्याप्त छलफल भइसकेका छन् ।

सरकारले एक किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने नमूना प्रस्ताव बनाएको छ, त्यसैअनुसार अगाडि बढ्ने प्रवक्ता न्यौपानेले बताए । 

योजनाअनुसार उपभोक्ता समितिमार्फत् आयोजना निर्माण गर्ने प्रारम्भिक योजना छ । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।

कसरी बन्छ बाहिरी चक्रपथ ?

बाहिरी चक्रपथ निर्माणका लागि ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् । 

बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ । पहिलो खण्डमा जग्गाप्राप्तिको प्रक्रियामा स्थानीय बासिन्दासँग सहमति जुटिसकेकाले अब काम शुरु गर्न समस्या नहुने आयोजनाको दाबी छ । 

पहिलो खण्डमा पर्ने करीब दुईसय घरलाई भने सरकारकै तर्फबाट क्षतिपूर्ति दिएर हटाइनेछ ।

बाहिरी चक्रपथ खण्डमा एकीकरण हुनेमध्ये ७.८ प्रतिशत जग्गा मात्रै सडक क्षेत्रमा पर्छ । स्थानीयवासीलाई सोहीमूल्य बराबरको व्यवस्थित जग्गा दिएर मात्रै जग्गा लिने सरकारी योजना छ । 

निःशुल्क जग्गा उपलब्ध गराउँदा उनीहरुले चक्रपथ र जग्गा एकीकरणको कुल लागतमा आठ प्रतिशत योगदान गर्नेछन् । सरकारले यसबापत उनीहरुको ८० हजार रोपनी एकीकरण गरिदिनेछ ।

अधिग्रहणपछि पहिलो खण्डमा ७ हजार ८ सय रोपनी सरकारको नाममा आउनेछ । त्यसमध्ये करीब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रूपमा विकास गर्नेछ ।

१२ वर्षअघिको योजना कार्यान्वयनमा

सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने उक्त आयोजनाको अवधारणा करीब १२ वर्षअघि नै तयार पारेको थियो ।

काठमाडौंमा ३५.०८ किमि, ललितपुरमा १५.८० किमि र भक्तपुरमा २१.०५ किमि रहने गरी चक्रपथ निर्माण गरिनेछ ।

चोभारबाट गम्चा, सतुङ्गल, नैकाप, पूरानोभञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ । 

यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्र्याक खोल्नेसहित बस्ती विकासको पूर्वाधार निर्माण शुरु हुने तयारीमा छ । 

यस्तो बन्दैछ 

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्र्याक रहनेछ भने ग्रीन बेल्टसहित किनारामा फूटपाथ पनि विकास गरिनेछ । सडक, फूटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।

चक्रपथको दायाँबायाँ २५० मिटर जग्गा एकीकरण गर्दै सडक, विद्युत्, खानेपानी, सार्वजनिक पार्क, पिकनिक स्पट, विद्यालय, अस्पताल, खुला स्थान, सपिङ मल, मनोरञ्जन स्थल लगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना राखेको छ ।

उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । अरनिको र पृथ्वी राजमार्गसहित तराई जोड्ने फास्ट ट्र्याकमा पनि यो सडक जोडिने भएकाले यसले काठमाडौंमा गाडी लिएर आउनुपर्ने बाध्यतालाई हट्नेछ भने अव्यवस्थित शहरीकरणलाई रोक्न पनि यो फलदायी हुने सरकारको विश्वास छ ।  

भित्री चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा सडक रहने र भित्री संरचनामा ३४ पक्की पुल रहने आयोजनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्