
विराटनगर, २१ वैशाख– सिण्डिकेट तोड्ने सरकारी निर्णयकाविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघआवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेको छ ।
सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमकाविरुद्ध आन्दोलनमा उत्रिएका व्यावसायीहरूले आज बिहानैदेखि विराटनगरबाट चल्ने लामो दूरीकासबै सार्वजनिक बसहरु नचलाएका हुन ।
सरकारी निर्णयकाविरुद्ध चरणबद्ध आन्दोलनको केन्द्रीय कार्यक्रमअनुसार व्यवसायीले विराटनगरबाट चल्ने गाडी ठप्प पारेका हुन् । सरकारले ल्याएको नीतिविरुद्ध एकदिन साङकेतिक रुपमा सबै गाडी घर र ग्यारेजमा थन्क्याउने यस अघि नै यातायात ब्यवसायी महासंघले निर्णय गरेको पुर्वघोषित कार्यक्रम हो ।
आफ्ना माग सरकारले सुनवाई नगरे आगामी बैशाख २७ गतेबाट अनिश्चितकालिन यातायात ठप्प पार्ने व्यवसायीले चेतानवनी दिँदै आएका छन् । ग्यारेजमा थन्काउने गाडीको रुट परमिट खारेज गरिदिने सरकारी चेतावनीका बाबजुद समितिहरूले देशभर लामो दूरीमा यातायात बन्द गर्दा यात्रुहरूले सास्ती पाएका छन् ।