काठमाडौं, २५ माघ - बारामा दुईजनाको हत्या गरेको अभियोगमा नेपाली नागरिक शमशुल होदा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय आतंकवादी संगठन समेतको कनेक्सनमा दुबईमा बसेर आतंकवादी गतिविधि चलाएको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाराले होदासहित चार जनालाई पक्राउ गरेको हो । २०७३ पुस १० गते बाराको कलैयास्थित सहजनाथ सामुदायिक वनमा भारतीय नागरिक अरुण राम र दीपक रामको हत्या भएको अवस्थामा शव भेटिएको थियो ।
लगत्तै अनुसन्धान खटिएको जिल्ला प्रहरी टोलीले घटनामा संलग्न भन्दै मोजाहिर अन्सारीलाई पक्रियो । अनुसन्धानकै क्रममा अर्का गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई समेत प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लियो ।
त्यसपछि पुनः अर्का व्यक्ति आशिष सिंह र उमेश कुमार कुर्मी पक्राउ परे । त्यसपछि खतरनाक अभियुक्त मानिएका शमशुल होदालाई प्रहरीको विशेष ब्यूरोले पक्रिएको हो ।
भारतीय सुरक्षा निकायले समेत खोजी गरिरहेका होदा आफैं नेपाल आएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष ब्यूरोले प्रारम्भिक बयान सकेर मुद्दा प्रक्रियाका लागि होदालाई बारा पठाएको थियो ।
को हुन् मुख्य योजनाकार होदा ?४८ वर्षका होदाको स्थायी घर परशुरामपुर बारामा छ भने सदरमुकाम कलैयामा अस्थायी बसोबास छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी नरेन्द्र उप्रेतीका अनुसार होदाको सम्बन्ध नेपाल, भारत, मलेसिया, दुबई र पाकिस्तानका अन्तर्राष्ट्रिय गिरोहस“ग देखिएको छ ।
तर कुन आपराधिक संगठनस“ग होदाको सम्बन्ध छ भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् । सन् २००१ देखि करीब १२ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका होदा, २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बारा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । होदास“गै उनलाई अपराधमा सहयोग गरेको भनेर अन्य चारजनालाई पनि प्रहरीले पक्रिएको छ ।
होदाका अरू चार सहयोगी को को ?होदाका थप चार सहयोगी पनि पक्राउ परेका छन् । महागढीमाई, बाराका गिरी बाबा भन्ने वृजकिशोर गिरी, कलैया बाराका मोजाहिर अन्सारी, कलैया बाराकै आशिष सिंह र कलैया बाराका उमेश कुमार कुर्मी पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तहरूलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
किन मारे होदाले आफ्नै समूहका व्यक्ति ?विभिन्न आपराधिक क्रियाकलापमा संलग्न शमशुल होदाको आर्थिक अवस्था कमजोर भएपछि डेढ वर्षपहिले उनी पर्यटक भिसामा दुबई गएका थिए । दुबईमा होदाले पाकिस्तानी नागरिक सफीस“ग सम्पर्क गरे । अनि, सफीकै माध्यमबाट अन्तर्राष्ट्रिय आतंकवादी समूहस“ग सहकार्य भयो होदाको ।
त्यसपछि उनीहरूले नेपालस“ग सिमाना जोडिएको भारतको रक्सौलनजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेही स्थित रेल्वे स्टेशनमा शक्तिशाली बम विस्फोट गराउने योजना बनाए ।
विस्फोटबापत आर्थिक लाभ लिने उद्देश्यका साथ यिनले प्रहरी नियन्त्रणमा रहेका गिरी बाबा भन्ने वृजकिशोर गिरीस“ग सम्पर्क गरे । योजनामुताबिक नै गिरी बाबाले भारतीय नागरिक राजु भन्ने उमाशंकर पटेलमार्फत मृतकद्वय अरुण राम र दीपक रामलाई विभिन्न मितिमा गरी काम फत्ते गराउन भन्दै आठ लाख रुपैया“ समेत दिए ।
यसअनुसार, उनीहरूले घोडासहन रेल्वे स्टेशनमा बम विस्फोट गराउने प्रयास गरे तर सफल भएनन् । यता, आदापुर नकरदेहीस्थित रेल्वे स्टेशनमा त बम विस्फोट नै गराए तर क्षति हुन भने पाएन ।
त्यसपछि होदाको समूहले अरुण राम र दीपक रामलाई पटक–पटक तोकिएको काम गर्न आग्रह गरे । काम पूरा हुन नसक्ने देखेपछि शमशुल होदाले नै गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई अरुण राम र दीपक रामलाई मार्न आदेश दिए । त्यहीअनुरूप गिरी बाबा लगायतको समूहले दुईजनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कानपुरमा भएको रेल दुर्घटनामा होदा समूहको संलग्नता रहेको भारतीय समाचारसंस्थाहरूले जनाएका छन् । होदा पक्राउको घटनालाई भारतीय सञ्चारमाध्यमहरूले विशेष महत्त्व दिएका छन् ।