काठमाडौं, २६ माघ — गजल सम्राट् जगजीत सिंहको जन्म आजैको दिन भएको थियो । गजलका बादशाह जगजीतको देहावसान भइसकेको भएपनि उनको मधुर आवाज अझै पनि श्रोताहरूको मनमा बसेको छ ।
गजल गायनलाई सरल र पूर्ण बनाउन जगजीतको ठूलो योगदान छ । सन् १९४१ को फेब्रुअरी ८ तारिखका दिन राजस्थानको गंगानगनरमा उनको जन्म भएको थियो ।
गजल गायनलाई जगजीतले नयाँ आयाम दिएका थिए ।
कुरुक्षेत्र विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि संगीतप्रतिको लगावका कारण उनी मुम्बई पुगे । त्यहाँ उनले सुरका माध्यमबाट नाम र दाम दुवै कमाए ।

प्रसिद्ध गायिका चित्रासँग प्रेम विवाह गरेका जगजीतले अर्थ, प्रेमगीत, लीला, सरफरोश, तुम बिन लगायतका चलचित्रमा उनले गाएका गजलहरू श्रोताको मनमा बसेका छन् ।
उर्दू शब्दले भरिएका भारीभरकम गजलको युगमा जगजीतले सरल तर अर्थपूर्ण गजल गाएर आमजनतासामु चर्चित बनाएका थिए । उनले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीका कविता पनि गाएका थिए ।
हिन्दीका अलावा उर्दू, पञ्जाबी, बंगाली, गुजराती र नेपाली गीतगजल पनि उनले गाएका थिए ।
आफ्नो जवान छोरो दुर्घटनामा गुमाएपछि जगजीत सिंहले पीडालाई गजलमा व्यक्त गरे । उनका गजल सुनेर दुःखी मानिसका पीडा पनि कम हुन्थे ।
उनका लगभग सबै गजल प्रसिद्ध छन् ।
एजेन्सीको सहयोगमा