२६ असार २०८३, शुक्रबार

गोलाप्रथामा गजबको संयोग : गृहमन्त्रीको लोकप्रियता र अर्थमन्त्रीको आलोचना प्रतिबिम्बित !

असार ४, २०७५
गोलाप्रथामा गजबको संयोग : गृहमन्त्रीको लोकप्रियता र अर्थमन्त्रीको आलोचना प्रतिबिम्बित !

काठमाडौं, ४ असार – राष्ट्रियसभा सदस्यको पदावधि निर्धारणका लागि आज गोलाप्रथा भएको छ ।

सरकार सञ्चालनदेखि राष्ट्रिय सभाको नेतृत्व गरिरहेका व्यक्तिको ‘भाग्य फैसला’ हुने भएकाले गोलाप्रथामा सबैको चासो थियो ।

गोलाप्रथामा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ र राष्ट्रिय सभाका सदस्य गणेशप्रसाद तिमिल्सिना भाग्यमानी ठहरीए । तिमल्सिना र वादलको पदावधि ६ वर्ष परेको छ । ‘भाग्य’ले साथ लिएपछि अब दुबै जना ढुक्क साथ राज्य सञ्चालनमा सहभागी हुन पाउने भएका छन् । गृहमन्त्रीका लोकप्रिय कामका कारण पदावधि लामो होस् भन्ने आमअपेक्षा थियो, जुन अपेक्षा पूरा भएको छ ।

प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र तथा अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि भने २ वर्षमै सीमित भएको छ । ‘भाग्य’ले साथ नदिएपछि गोलाप्रथाले खतिवडाको पदावधि २ वर्ष निर्धारण गरेको छ । प्रधानमन्त्री ओलीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ठानिएका खतिवडाले २ वर्षपछि सरकारबाट बाहिरिनुपर्ने देखिएको छ । राष्ट्रियसभा सदस्य भएका कारण खतिवडा अर्थमन्त्री हुन पाएका हुन् । संघीय सरकारमा मन्त्री हुन संसद सदस्य हुनुपर्ने वा मन्त्री भएको ६ महिनाभित्र संसदको सदस्य हुनुपर्ने प्रावधान रहेको छ ।

स्थायी संसदका रुपमा रहेको राष्ट्रिय सभाका कूल सदस्यमध्ये एकतिहाई सदस्य पदावधि २ वर्ष, अर्काे एकतिहाईको ४ वर्ष र अर्काे एकतिहाईको पदावधि ६ वर्ष हुने प्रावधान छ । गोलाप्रथाका आधारमा पदावधि सकिएपछि रिक्त रहेको पदमा सदस्य निर्वाचन गर्न २–२ वर्षमा पुनः निर्वाचन हुनेछ । संविधानमै भएको प्रावधान अनुसार आज गोलाप्रथा गरेर राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिएको हो ।

गोलाप्रथामा गजबको संयोग के देखिएको छ भने – लामो राजनीतिक यात्रा गरेर राष्ट्रिय सभामा पुगेका थापा र तिमिल्सिनालाई ६ वर्षे पदावधि परेको छ भने लामो समय राजनीतिमा आवद्ध नभई ‘फास्ट ट्रर्याक’मार्फत् मन्त्री बनेका खतिवडाले २ वर्षमै सीमित हुनुपरेको छ । आफूले मन्त्री भएपछि तयार पारेको पहिलो बजेटका कारण सत्तापक्षबाटै आलोचना खेपिरहेका खतिवडालाई गोलाप्रथाले समेत साथ दिएन । बृद्धभत्ता बढाउने आश्वासन दिएर सत्तामा पुगेको वाम गठबन्धनले बजेटमा बृद्धभत्ता नबढाएपछि पनि अर्थमन्त्री खतिवडाको आलोचना भइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्