
काठमाडौं, १८ असार – चालू आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक (साउनदेखि फागुन)सम्म सडक विभाग अन्तर्गतको भौतिक प्रगति ६२ दशमलव ४७ प्रतिशत सम्पन्न भएको छ । विभाग अन्र्तगतका दोस्रो चौमासिकसम्ममा विभिन्न सडक योजना तथा परियोजनामध्ये ५ सय २२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।
यसैगरी ४ सय ८० किलोमिटर खण्डास्मित (ग्राभेल) र ३ सय ४६ किलोमिर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको विभागको प्रगति विवरणमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा १ सयवटा पुल निर्माण गर्ने विभागको लक्ष्य रहेकोमा दोस्रो चौमासिकसम्म २२ वटा पुल निर्माण सम्पन्न भएका छन् ।
यस्तै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत चालू आर्थिक वर्षमा ५१ दशमलव ३७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य भएकोमा दोस्रो चौमासिकसम्ममा १८ दशमलव १५ विस्तार सम्पन्न भएको छ ।
सडक विभागअन्तर्गतको १० हजार किलोमिटर सडक नियमित तथा पटके मर्मत सम्भार कार्यका लागि ठेक्का पट्टा गरी सडक मर्मत सम्भार कार्य भएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षमा सडक विभागअन्तर्गत जम्मा ६८ वटा बजेट उपशीर्षक आयोजना/परियोजना सञ्चालनमा छन् । यीमध्ये जाजरकोट दुनै सडकखण्ड पूर्णरूपमा नेपाली सेनाले जिम्मा लिएको छ ।
गत आर्थिक वर्षमा कर्णाली करिडोरको सिमिकोट र गल्छी सडकमा आंशिक कार्य गरी पूर्णरूपमा नेपाली सेनालाई हस्तान्तरण गरिसकेको छ । बाँकी गल्छी–त्रिशुली–मैलुङ ४६ किलोमिटर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य दु्रत गतिमा काम भइरहेको विभागले जनाएको छ ।
दक्षिण सीमाबाट पूर्व पश्चिम राजमार्ग जोड्ने ३४ वटा सडकहरुको ठेक्कापट्टा व्यवस्थापन भइ निर्माण कार्य भइरहेको छ भने समृद्ध नेपालका लागि ५ वर्षे सडक योजना अनुरूपमा विभिन्न बजेट उपशीर्षकअन्तर्गत काम भइरहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।
उनले विभागअन्तर्गत चालू आर्थिक वर्षमा सम्पन्न भइसक्नुपर्ने विभिन्न योजना तथा परियोजनाहरूको प्रगति तीव्र गतिमा रहेको बताए ।
आर्थिक वर्ष २०७४/०७५मा सडक विभाग अन्तर्गतका विकास आयोजनातर्फ ७५ अर्ब ४५ करोड ३२ लाख ४७ हजार (सडक बोर्डबाहेक) रकम विनियोजन भएको थियो ।
यसमध्ये दोस्रो चौमासिकसम्म २३ अर्ब ७७ करोड ८७ लाख ५५ हजार खर्च गर्ने लक्ष्य रहेकोमा १९ अर्ब १७ करोड ७ लाख खर्च भएको विभागले जनाएको छ । यो वार्षिक रकमको ३५ दशमलव ६६ प्रतिशत हुन आउँछ ।