३१ असार २०८३, बुधबार

मुलुकमा पाँच सय २२ किमी सडक थपियो, तीन सय ४६ किमी कालोपत्रे

असार १८, २०७५
मुलुकमा पाँच सय २२ किमी सडक थपियो, तीन सय ४६ किमी कालोपत्रे

काठमाडौं, १८ असार – चालू आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक (साउनदेखि फागुन)सम्म सडक विभाग अन्तर्गतको भौतिक प्रगति ६२ दशमलव ४७ प्रतिशत सम्पन्न भएको छ । विभाग अन्र्तगतका दोस्रो चौमासिकसम्ममा विभिन्न सडक योजना तथा परियोजनामध्ये ५ सय २२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको विभागले जनाएको छ । 

यसैगरी ४ सय ८० किलोमिटर खण्डास्मित (ग्राभेल) र ३ सय ४६ किलोमिर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको विभागको प्रगति विवरणमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा १ सयवटा पुल निर्माण गर्ने विभागको लक्ष्य रहेकोमा दोस्रो चौमासिकसम्म २२ वटा पुल निर्माण सम्पन्न भएका छन् । 

यस्तै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत चालू आर्थिक वर्षमा ५१ दशमलव ३७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य भएकोमा दोस्रो चौमासिकसम्ममा १८ दशमलव १५ विस्तार सम्पन्न भएको छ ।  

सडक विभागअन्तर्गतको १० हजार किलोमिटर सडक नियमित तथा पटके मर्मत सम्भार कार्यका लागि ठेक्का पट्टा गरी सडक मर्मत सम्भार कार्य भएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षमा सडक विभागअन्तर्गत जम्मा ६८ वटा बजेट उपशीर्षक आयोजना/परियोजना सञ्चालनमा छन् । यीमध्ये जाजरकोट दुनै सडकखण्ड पूर्णरूपमा नेपाली सेनाले जिम्मा लिएको छ । 

गत आर्थिक वर्षमा कर्णाली करिडोरको सिमिकोट र गल्छी सडकमा आंशिक कार्य गरी पूर्णरूपमा नेपाली सेनालाई हस्तान्तरण गरिसकेको छ । बाँकी गल्छी–त्रिशुली–मैलुङ ४६ किलोमिटर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य दु्रत गतिमा काम भइरहेको विभागले जनाएको छ ।

दक्षिण सीमाबाट पूर्व पश्चिम राजमार्ग जोड्ने ३४ वटा सडकहरुको ठेक्कापट्टा व्यवस्थापन भइ निर्माण कार्य भइरहेको छ  भने समृद्ध नेपालका लागि ५ वर्षे सडक योजना अनुरूपमा विभिन्न बजेट उपशीर्षकअन्तर्गत काम भइरहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।  

उनले विभागअन्तर्गत चालू आर्थिक वर्षमा सम्पन्न भइसक्नुपर्ने विभिन्न योजना तथा परियोजनाहरूको प्रगति तीव्र गतिमा रहेको बताए । 

आर्थिक वर्ष २०७४/०७५मा सडक विभाग अन्तर्गतका विकास आयोजनातर्फ ७५ अर्ब ४५ करोड ३२ लाख ४७ हजार (सडक बोर्डबाहेक) रकम विनियोजन भएको थियो ।

यसमध्ये दोस्रो चौमासिकसम्म २३ अर्ब ७७ करोड ८७ लाख ५५ हजार खर्च गर्ने लक्ष्य रहेकोमा १९ अर्ब १७ करोड ७ लाख खर्च भएको विभागले जनाएको छ । यो  वार्षिक रकमको ३५ दशमलव ६६ प्रतिशत हुन आउँछ ।

salt training

कमेन्ट गर्नुहोस्