
काठमाडौं, १८ असार – रुसमा चलिरहेको फिफा विश्वकपमा खेलिरहेका कैयौं खेलाडीहरू अन्धविश्वासी छन् । उनीहरू गूडलकका लागि अचम्मका काम गर्छन् ।
ब्राजिलका फूटबलर मार्सेलो मैदान छिर्नुअघि लाइनभित्र पहिले देब्रे कदम राख्छन् ।
कोलम्बियाका गोलकीपर हेगुइटा करीयरभरि सधैं नीलो अन्डरवियर लगाएर मात्र खेल्थे । उनको अनौठो पेनाल्टी सेभको अहिलेसम्म पनि चर्चा हुने गर्छ ।
इंग्ल्यान्डका फिल जोन्स गूडलकका लागि सेतो लाइनमा हिँड्दैनन् ।
मोरक्कोका कोच हर्भे रेनार्ड टीमको म्याचका बेलामा सेतो शर्ट लगाउँछन् । सन् २०१२ देखि नै उनी यसै गर्दै आएका छन् । त्यतिखेर उनको टोली अफ्रिकन कप अफ नेसन्समा सफल भएको थियो ।
फ्रान्सको सन् १९९८ को विश्वकप टोलीका धेरैजसो सदस्य म्याचअघि गोलकीपर बार्थेजको चिण्डो टाउकोमा हात मुसार्थे । अनि डिफेन्डर लरेन्ट ब्लांक चाहिँ म्याचअघि बार्थेजको टाउको चुम्थे ।
इंग्ल्यान्डका डेले अल्ली अहिलेसम्म पनि बालककालमा प्रयोग गरेको शिन गार्ड नै प्रयोग गर्छन् । उनी त्यसलाई लकी मान्छन् ।
जर्मनीका स्ट्राइकर मारियो गोमेज म्याचअघि एकदम देब्रे साइडमा बनेको शौचालय प्रयोग गर्छन् ।
जर्मनीका अर्का खेलाडी जुलियन ड्रेक्सलर हरेक म्याच पर्फ्युम लगाएर खेल्छन् ।
एजेन्सी