
काठमाडौं, २२ असार – इंग्ल्यान्ड १२ वर्षपछि फूटबल विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । शनिवार उसको भिडन्त स्विडेनसँग हुँदैछ ।
त्यो खेल हेर्नका लागि केही प्रशंसकले आफ्नो जरूरी काम पनि स्थगित गरेका छन् । केहीले विवाह समेत सारेका छन् ।
इंग्ल्यान्डमा शनिवार दिउँसो ३ बजे लगभग २९ डिग्री सेल्सियस हुने अनुमान छ । त्यहाँका लागि यो चर्कै तापक्रम हो तर मानिसलाई यसको मतलब छैन । उनीहरूले प्रमुख शहरहरूमा ठाउँ ठाउँमा ठूला स्क्रीन लगाएका छन् र लाखौं
फूटबलप्रेमीहरू भेला भएर हेर्ने आशा गरिएको छ ।
इंग्ल्यान्डको इप्सविचमा बस्ने ड्यानी जोर्डनले बताएअनुसार उनका भाइले म्याच हेर्नका लागि प्रेमिकासँगको विवाह पनि स्थगित गरेका छन् ।
अनि वाटफोर्डकी ओलिभियाले भनिन्, ‘हत्तेरिका, शनिवार त मैले एउटा बिहेमा जानुछ । त्यतिखेरै इंग्ल्यान्डले खेलिरहेको हुनेछ । मलाई दुःख लाग्यो । बिहे भएका ठाउँमा टीभी होला भन्ने आशा गर्छु ।’
इंग्ल्यान्डमा समर फेस्टिभल चलिरहेको छ । त्यसमा धेरैले भाग लिन्छन् । भीडका कारण ट्राफिक जामको सम्भावना छ ।
अनि कसैगरी इंग्ल्यान्डले म्याच हारेमा हंगामा हुन सक्छ । त्यसैले स्कटल्यान्ड यार्ड प्रहरीले सबैतिर लगातार गश्ती गरिरहेको छ ।
एजेन्सी