
काठमाडौं – फ्रान्सका खेलाडी न्गोलो कान्तेले आफ्ना साथीहरूलाई ‘विश्वकप मलाई पनि छुन देओ’ भन्न नसक्दा उनका साथी स्टिभन न्जोन्जीले सहयोग गरिदिनुपरेको छ ।
फ्रान्सले विश्वकप जितेपछि न्जोन्जीले आफ्ना साथीहरूलाई भनेर मिडफील्डर कान्तेलाई विश्वकप ट्रफी छुन सहायता गरेका थिए । झमझम पानी परिरहेको बेलामा फ्रान्सका खेलाडीहरूले पालैपालो ट्रफी समातेका थिए ।
विश्वकपमा २७ वर्षीय कान्ते गजबको फर्ममा थिए र टोलीलाई विश्वविजेता बनाउन उनको प्रमुख भूमिका रह्यो ।
तर लुझ्निकी रंगशालामा उनले खासै प्रदर्शन गर्न सकेनन् र क्रोएसियाका मिडफील्डहरूले उनलाई घेरिरहे ।
खेलको बीचमा पहेंलो कार्ड पाएपछि उनलाई प्रशिक्षक डिडिएर डिशँप्सले ५५ मिनेटमा मैदानबाहिर बोलाए र न्जोन्जीलाई छिराए । 
फ्रान्सले दोस्रोपटक विश्वकप जितेपछि उन्मादपूर्ण उत्सव मनाउँदा चाहिँ कान्ते ट्रफीलाई छुन लालायित देखिन्थे तर लाजले गर्दा कसैलाई भन्न सकिरहेका थिएनन् ।
एजेन्सी