३० असार २०८३, मंगलबार

मधेशको मिठ्ठा गुड : सख्खरलाई बिर्सिएर चिनी मात्र चिन्दा स्वास्थ्यमा समस्या !

साउन ९, २०७५
मधेशको मिठ्ठा गुड : सख्खरलाई बिर्सिएर चिनी मात्र चिन्दा स्वास्थ्यमा समस्या !

– राकेशप्रसाद चौधरी

विद्यालयको छेउछाउमा रहेको पसलमा अहिले स्वदेशी तथा विदेशी खाद्यपदार्थ बिक्री हुने गरेको छ । चाउचाउ, बिस्कुट, दालमोठ, भुजिया लगायतका सामानकै बोलबाला छ । थोरै ठाउँमा मात्रै मुरही, कचरी र छोला मुरही पाइन्छ । यो अहिलेको अवस्था छ ।

केही वर्ष अगाडिसम्म विद्यालयको छेउछाउमा मिठ्ठा (गुड) ले बनाइएका हलवा मिठाइ, छडी, कट्टा (मिठ्ठा चकलेट) सँगै मुरही कचरी एवं छोलामुरहीको बिक्री हुने गर्दथ्यो । त्यस समयमा चिनीकटोराले मिठ्ठाबाट बनेको सामानसँग प्रतिस्पर्धा गरिरहन्थ्यो । अर्थात्, केही वर्ष अगाडिसम्म चलेको चिनी र मिठ्ठाको प्रतिस्पर्धामा अन्ततः चिनीको साम्राज्य कायम भइसकेको छ । यो प्रसङ्ग कोट्याउनुको मुख्य कारण मधेशका वासिन्दामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको कमीले विभिन्न समस्या उत्पन्न हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

मधेशमा मनाइने छठ, होली, चौठीचाँद, माघे संक्रान्ति सहितका सम्पूर्ण पर्वमा मिठ्ठाको एकल राज्य थियो । चिनीले बनाइएका सामग्री प्रयोग गर्दा देवता रिसाउने कथन पनि बिस्तारै हराउन थालेको छ । माघे संक्रान्तिमा तिल, च्यूरा र मुरहीको लड्डु र छठ पर्वमा अर्ध दिन बनाइने ठेकुवा र भुसवामा मात्र मिठ्ठाको प्रयोग हुने गरेको पाइन्छ ।

मधेशको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा प्रयोग हुँदै आएको मिठ्ठाको प्रयोग घट्न थालेसँगै यस क्षेत्रका वासिन्दामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको कमी देखिन थालिएको छ । रातो थरिया लगायतको सागको सट्टा हरियो सागको प्रयोग पनि बढेको छ । रातो सागले पनि केही हदसम्म आइरन, क्याल्सियम, फस्फोरस र भिटामिनको पूर्ति गर्ने गरेको थियो ।

मिठ्ठा एवं चिनी उखुकै रसबाट बनाउने गरिन्छ । चिनी उद्योगको लागत करोडौंमा हुन्छ । मिठ्ठा उद्योगको लागत किसानको आवश्यकता अनुसार हुन्छ । चिनी उद्योगबाट किसानले रकम भुक्तानी पाउन आन्दोलन गर्नुपरेको छ । राज्यले किसान र उद्योगीबीच मध्यस्थता गर्नुपरेको छ । राज्यले पनि मिठ्ठा उद्योगलाई बिर्सिसकेको छ । 

फाटफुटमा उत्पादन हुने मिठ्ठा पनि अहिले दारु उत्पादनमा खर्चिने गरिएको देखिन्छ । पहिले हरेक हटियामा मिठ्ठाको अलग बजार नै हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । मिठ्ठाको व्यवसाय सीमित भएको छ । यो किन्न ठूलो बजार एवं हटिया नै कुर्नुपर्ने भएको छ ।

पहिला–पहिला जीम गर्ने अथवा बिहान शारीरिक अभ्यास गर्नेहरू चना र मिठ्ठाको सेवन गर्ने गर्थे । त्यहीँ उमेर बढ्न थालेकी छोरीलाई अनिवार्य दही र मिठ्ठा खान दिइन्थ्यो । अहिले प्याकेटमा बन्द चटक–पटक खुवाउन अभिभावक सक्रिय छन् भने छोराछोरीले समेत त्यस्तै सामानको लागि दबाब बनाइरहन्छन् ।

मधेशका बालबालिका मात्र नभई महिला तथा किशोरीमा रगतको कमी देखिने समस्या भएकाले पनि मिठ्ठाको महत्त्वबारे जान्न आवश्यक छ । पहिला–पहिला चिया पनि मिठ्ठा हालेरै बनाइन्थ्यो । मिठ्ठाको महिमा जान्नुपर्ने आवश्यकता अहिले मधेशमा छ ।

मिठ्ठामा आइरन, क्याल्सियम, फस्फोरस, भिटामिन लगायतको तत्व पाउने गर्छ । आयुर्वेद संहिता अनुसार यो छिट्टै पाँचन हुने, रगत बढाउने तथा भोक जगाउने गर्छ । यसमा क्याल्सियम भएकाले बालबालिकाको हाडमा मजबुती ल्याउन मद्दत गर्छ । बालबालिको दाँत टुट्दा हुने कमजोरी पनि कम गर्छ । प्राचीनकालमा समेत मानसिक र शारीरिक रुपमा स्वस्थ रहन मिठ्ठा, दही र मख्खनको प्रयोग हुने गरेको उल्लेख पाइन्छ । उमेर बढ्न थालेकोको मानसिक एवं शारीरिक स्वास्थ्यका लागि मात्र नभई मुटुको समस्या हुन नदिन यसले मद्दत गर्छ ।

रजस्वला हुने महिलाको लागि मिठ्ठाको प्रयोग अतिआवश्यक मानिन्छ । हुन त अस्पताल एवं बजारमा आइरनको चक्की पनि पाइन्छ । तर, मिठ्ठाको प्रयोगले प्राकृतिक रुपमा आइरनको कमी हुन दिँदैन । मासिक गडबडी ठिक गर्नमा समेत यसले मद्दत गर्छ । यसबाट तुरुन्त शक्ति प्राप्त हुन्छ । रुघाखोकी, श्वासप्रश्वास, उच्च रक्तचाप, कब्जियत लगायतको रोग एवं समस्यामा यसको प्रयोग लाभदायी हुन्छ । आयुर्वेद चिकित्सकले मिठ्ठाको प्रयोगबारे अधिक जानकारी गराउन सक्छन् ।

मिठ्ठाको प्रयोगमा आएको कमीले मधेशीको जनजीवनमा आइरन, क्याल्सियम, पोटासियम, भिटामिनको चक्की खानुपर्ने संस्कृतिको विकास गरिसकेको छ । स्वास्थ्य क्षेत्रमै विभिन्न किसिमका कार्यक्रम यसै विषयमा केन्द्रित हुन थालेको छ । दातृ निकायको लगानी यसै समस्यामा अधिक हुन थालेको छ । तर, मिठ्ठाको महत्व र यसको प्रयोगबारे मौनता कायम छ ।

मधेशीको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा निकै महत्वपूर्ण भूमिका खेल्ने मिठ्ठाबाट हामी टाढिन वा भाग्न थालेका छौं । यसको सेवन गर्दा समाजमा तल्लोस्तरको रुपमा पहिचान बन्ला कि भन्ने डर कायम छ । यही डरको कारण यस क्षेत्रका वासिन्दाले मरुवा (कोदो) को सेवन मात्र नभई खेती नै गर्न छोडिसकेका छन् । प्राकृतिकरुपमा प्राप्त गर्न सकिने आइरन, क्याल्सियम, फस्फोरस, भिटामिनको लागि अहिले विदेशीले सहयोग गर्ने वा बिक्री गर्ने औषधिमा परनिर्भर भएका छौं । राज्यबाट करोडौं रुपैयाँ औषधिमा खर्च भइरहेको छ ।

तसर्थ, संघीय एवं प्रदेश सरकारले मिठ्ठा उद्योग स्थापना एवं प्रोत्साहन, हरेक बालबालिका तथा आमालाई प्रतिमहिना १ किलो मिठ्ठा निःशुल्क वितरण कार्यक्रम गर्न आवश्यक छ । साथै, किसानले आफैंले उत्पादन गरेको उखुबाट मिठ्ठा बनाउँदा राज्यले तत्काल खरिद गरी भुक्तानी दिने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यहीँ मिठ्ठाको प्रयोगका लागि अत्यधिक प्रचारप्रसारको आवश्यकता छ । यस किसिमको कार्यक्रमतर्फ ध्यान नदिइए मधेश बिरामीको भूमिमा परिणत हुन बेर लाग्दैन । 

salt training

कमेन्ट गर्नुहोस्