
काठमाडौं– डाक्टर गोविन्द केसीको २७ दिन लामो अनसन तोडिएको छ । केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोडेका हुन् । केसी र सरकारबीच ९ बुँदे सहमति भएकाे छ ।
केसीलाई सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले जुस ख्वाएर अनशन तोडाएका थिए ।
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटकको अनसनमा रहेका केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुनः समस्या उत्पन्न भएको थियो ।
केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए । त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन् ।
जुस पिएर अनसन तोडेसँगै उनलाई त्रिवि शिक्षण अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ ।
यसैबीच सत्तारुढ दल नेकपाका नेता सुवासचन्द्र नेम्वाङले डाक्टर केसीसँग भएको सहमतिलाई व्यवहारका कार्यन्वयन गरिने बताएका छन् ।
डाक्टर केसीले अनसन तोडेसँगै नेम्वाङले त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘आज भएका सहमति मात्रै होइन हामीले कयैन लिखित /अलिखित प्रतिबद्धताहरुलाई पूरा गर्नु छ, त्यसलाई हामीले गरेरै छाड्छौं ।’
उनले डा केसीले अब फेरि पनि अनसन बस्नुपर्ने अवस्था नआउने पनि प्रतिबद्धता जनाए ।