१८ असार २०८३, बिहीबार

एउटै गजलले चिनिएका ललिजन

कात्तिक २०, २०७४
एउटै गजलले चिनिएका ललिजन
नखोलेरै राखिएको बन्द एउटा खाम थियो
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो

आजभोलि खुला पत्रको चलन चलेको छ । कुनै बेलामा बन्द खामभित्र विभिन्न बेहोराका चिठी लेखिने गर्थ्यो । खाममा जतनसाथ राखेर आफ्ना भावनालाई अभिव्यक्त गरिन्थ्यो । प्रविधिको विश्वव्यापी फड्कोसँगै बन्द खाम पनि लोप हुने अवस्थामा आइसक्यो ।lalijan-rawal

पत्रलेखन बिस्तारै ‘खुल्ला’ बन्दै गयो । खामहरू बन्द हुन छोडेका छन् ।

अछामका कवि तथा गजलकारलाई नेपाली साहित्यको गजल लेखनमा यही ‘खाम’ ले चिनाएको छ । दुईसयभन्दा बढी गजल लेखेपनि आम दर्शक तथा श्रोताको बोलीको भाका भएको छ बन्द खाम.. ।

ललिजन रावल एक चर्चित लेखक तथा गजलकारका रूपमा चिनिन्छन् । २०३७ सालमा पहिलो कविता लेखेर उनले आफ्नो साहित्यिक जीवनको शुरुवात गरेका थिए ।

कविता तथा कथालेखनबाट साहित्यमा यात्रा गरेपनि उनलाई धेरैले गजलकारका रूपमा चिन्छन् । भनौं, नेपाली साहित्यको इतिहासमा उनको नाम पनि लेखिएको छ ।

नखोलेरै राखिएको बन्द एउटा खाम थियो...

२०४६ सालमा प्रकाशित यो गजलले उनलाई चिनाएन मात्रै । धेरैको मनमा यो गजल बजिरह्यो । ट्रक साहित्य पनि बने यी पङ्क्ति । मीरा राणा, धन बहादुर गोपाली, विनोद दाहाल लगायतले यो गजललाई आफ्नो संगीतमा गाउन पनि गाए । ‘त्रिभुवन विश्वविद्यालयको बिएको पाठ्यक्रममा यो गजल पढ्नुपनि पर्छ,’ रावल भन्छन्, ‘म देशका जुन ठाउँमा जाँदा पनि धेरैले सुनाउने गरेको गजल यही हो ।’

साहित्यमा यही गजलले चिनाएपनि उनलाई ‘एउटा परदेशी आई सोध्यो मेरो नाउँ...’ बोलको गीतले चिनायो । उनी
भन्छन्, ‘यो गीतले मलाई चिनाउन उस्तै भूमिका खेल्यो ।’ नरेन्द्र प्यासी र देविका बन्दनाले गाएका थिए यो गीत । २०४७ सालको रेकर्डिङ थियो त्यो ।

कुनै बेला गजल, कविता र कथालेखनमा सक्रिय रहेका रावललाई साहित्यिक साथीहरूले बालबालिकाका लागि पनि केही न केही लेख्नुपर्छ भनेर घच्घचाइरहे । ‘मलाई पनि लेख्नुपर्छ भन्ने लागेर बाल गजलसंग्रह ‘टहटह जून’ लेखें ।’
उनी थप्छन्, ‘बाल साहित्य लेख्न झनै गाह्रो छ । आफू बालक भएर बालमनोविज्ञान बुझ्नुपर्ने हुन्छ ।’

****

नेपाली साहित्यमा आफूलाई चिनाएका रावल सानोमा भने नेपाली भाषा पनि बोल्न जान्दैनथे । उनको गाउँमा नेपाली भाषा बोलिँदैनथ्यो । अर्थात्, मानक नेपाली भाषाको त्यति प्रयोग हुँदैनथ्यो अछाममा ।

‘अछामतिर बोलिने भाषा काठमाडौंमा बोलिने नेपाली भाषाभन्दा फरक छ । अहिले पनि गाउँमा कतिपय व्यक्ति नेपाली बोल्न जान्नुहुन्न,’ उनी थप्छन्, ‘विद्यालयमा पढ्दै गर्दा बिस्तारै लेख्ने बानीको भने विकास हुँदै जान्छ ।’

अछाममा जन्मेका रावल कक्षा चारसम्म गाउँमै पढे । गाउँका प्रायः परिवार कमाउनका लागि मुम्बई जान्थे । उनी पनि आफ्ना परिवारसँग मुम्बई गए । उनी त्यहाँ कक्षा ४ मा भर्ना भए ।

त्यतिखेर उनलाई भाषिक समस्या भने पर्‍यो ।

हिन्दी भाषा जानेका थिएनन् । तर बिस्तारै हिन्दी पनि सिक्दै गए । पढाइ राम्रै चलिरहेको थियो ।
सन् १९७२ तिर स्कूलमा पढेको कविता अझै याद गरेको कविताको दुई पंक्ति सम्झँदै सुनाउँछन् :

जोश न ठन्डा होने पाए कदम मिलाकर चल
मञ्जिल तेरी पथ चुमेगी आज नहीं तो कल

‘मैले त्यसबेलामा पढेका कविताहरूले मेरो दिमागमा साहित्यिक छाप पारेका थिए कि भन्ने लाग्छ,’ उनी थप्छन्, ‘अनि रवीन्द्रनाथ ठाकुरको ‘काबुलीवाला’ कथाले मलाई पछिसम्म प्रभाव पारिरह्यो ।’

आधा बाल्यकाल मुम्बईमा सकेर उनी काठमाडौं हानिए । काठमाडौंमा फेरि उनलाई भाषिक समस्या प–यो । भारतमा आठमा पढ्दै गरेका रावल फेरि नेपालमा पनि ८ मै भर्ना भए ।

उनले नेपाली जानेका थिएनन् । कामचलाउ देवनागरीमा लेख्न भने सक्थे ।

‘काठमाडौं आएको केही समय त मलाई भाषाले गाह्रो नै भयो । तर भाषा राम्रो भयो । साथसाथै साहित्यमा पनि कलम चलाउन थालें,’ उनी मुस्कुराउँछन् ।

उनको शुरुवाती साहित्य लेखन कविताबाट भयो । कविताहरूले लेखे । त्यतिबेला निस्किने रूपरेखामा कथा पनि लेख्न थाले । ‘मलाई त्यसबेला लेखिएका केही कविता अझै पनि खुबै मन पर्छन् ।’ उनी आफैंसँगको प्रतिस्पर्धात्मक समय सम्झँदै भन्छन्, ‘केही महिना त आफ्नै सम्पादनमा साहित्यिक पत्रिका पनि प्रकाशन गरियो ।’

न त्यसबेलामा साहित्यमा पैसा थियो, न साहित्य लेख्ने साहित्यकार ।

अहिले समय फेरिएको छ । साहित्यको व्यापकता बढेको छ । ‘पहिले लेखकले आफैं समीक्षा गरेर स्तरीय सृजना गर्थे । अहिले त्यस्तो अवस्था छैन । साहित्यको नाममा सामाजिक सञ्जालमा स्तरहीन साहित्य लेख्ने धेरै भयो,’ उनी असहमति जनाउँछन् ।

उनी अमृत साइन्स क्यापसमा साइन्स पढ्न भर्ना त भए तर उनले पढाइभन्दा बढी राजनीति गरे । त्यसैले उनको पढाइ खस्कँदै गयो । एकैसाथ उनको ध्यान साहित्यमा पनि बढ्दै गइरहेको थियो । उनी सम्झन्छन्, ‘बरू मैले जीवनमा धेरै साहित्य सृजना गरेको समय पनि त्यही थियो होला ।’

त्यो समय २०३८ देखि २०४१ सालसम्मको थियो । विद्यार्थी जीवनपछि भने उनी जनवादी राजनीतिमा सक्रिय बनेनन् । राजनीतिलाई ओझेल पार्दै उनी गजल लेखनमा सक्रिय भएका थिए ।
केही वर्ष काठमाडौंको एक विद्यालयमा शिक्षण गरे ।
पछि काठमाडौंको क्यासिनोमा जागिर गर्न थाले । साढे सात वर्ष जागिर खेलाए जुवा खेलाउने काममा छिरेका उनी बिस्तारै क्यासिनोमै स्थायी जागिरे बने ।

बीचमा केही अंकसम्म निरन्तर रूपमा ‘अनुराग’ साहित्यिक पत्रिका आफ्नै सम्पादनमा प्रकाशन पनि गरे ।

एकदिन प्रदीप नेपालले उनलाई जागिरका लागि प्रस्ताव गरे ।
त्यतिबेला नेपाल सञ्चारमन्त्री थिए । उनले रेडियो नेपालमा जागिर खान अफर गरेपछि उनी रेडियो नेपालमा छिरे ।
बाह्र हजार रुपैयाँको जागिर छोडेर ३१ सय तलबमा उनी रेडियो नेपालमा करार सेवाका लागि छिरे । त्यो पनि दिपायल जानका लागि ।
उनी सहमति जनाउँछन्, ‘त्यसबेला रेडियो नेपालमा जागिर खान पनि राजनीतिक नियुक्ति हुन्थ्यो ।’

अहिले पनि छ ।

साहित्य यात्रा चलेकै थियो । बरू कथालेखनलाई छोडेर गजललेखनतिर लागे । पछिल्ला पुस्ताले उनलाई गजलकारका रूपमा चिन्यो । कथाकार तथा कविको परिचय भन्दा पनि गजलकारको रूपमा उनलाई चिन्न थाले । ‘प्रायः म जहाँ जान्छु, मेरा गजलको माध्यमबाट मलाई चिन्नुहुन्छ,’ उनी थप्छन् ।

साहित्यको कुनै बिसौनी छैन भन्ने रावललाई लाग्छ । भन्छन्, ‘साहित्यको कुनै बिसौनी, टुङ्गो या अन्त्य हुँदैन । बरू नयाँ सृजना रचना गर्दा सधैं आफू नयाँ लेखक भइन्छ ।’

तर उनको आफ्नो लेख्ने कुनै रुटिन पनि छैन । त्यति धेरै लेख्न पनि सकेका छैनन् ।
जिन्दगीमा मैले यसो गरिनँ कि भन्ने पछुतो उनलाई केही छैन । तर उनलाई संगीतमा सानैदेखि रुचि हुन्थ्यो । लाग्थ्यो, कमसेकम हार्मोनियम बजाएर गीत गाउन पाइयोस् ।

‘राज्यले मलाई साहित्य लेख् भनेर लेखेको होइन । मैले लेख्दा सबैले चिन्छन् भनेर लेखेको हुँ । राज्यले लेखकलाई केही गरेन भन्दै कुण्ठा पोख्नुपर्ने पनि राम्रो हो जस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्