०२ साउन २०८३, शनिबार

वाजपेयीले जनकपुरमा गरेको त्यो भाषण : शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ !

साउन ३१, २०७५
वाजपेयीले जनकपुरमा गरेको त्यो भाषण : शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ !

जनकपुरधाम – भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीवार निधन भएपछि नेपालमा पनि उनलाई स्मरण गरिँदैछ ।

भारतको प्रधानमन्त्री बन्नुअघि वाजपेय भारतको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता थिए । त्यतिबेला उनी नेपाल भ्रमणमा आउँदा जनकपुरको जानकी मन्दिर आएर थिए । माता जानकीको दर्शन गर्दै उनले उपस्थित नागरिकलाई सम्बोधन समेत गरेका थिए ।

विक्रम सम्वत् २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल बिहारी वाजपेयीले जनकपुर आएर जानकी मन्दिरको दर्शन गरेका थिए ।

वाजपेयी जनकपुरमा १ रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठूलो आँधिबेहरी र पानी पनि पर्न थालेपछि सहभागीहरू ओत लाग्न अन्यत्र जानै लाग्दा वाजपेयीले हिन्दीमा भनेका थिए, ‘यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ ।’ 

‘वाजपेयीको अभिव्यक्तिपछि अन्यत्र जान थालेका सबै मान्छेले पानीमा भिज्दै कुरा सुनेका थिए,’ वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन् । त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्यनारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा जाँदा मिथिला संस्कृतिबारे उनलाई जानकारी गराइएको थियो ।

केन्द्रका तत्कालीन सचिव रामभरोस कापडीका अनुसार वाजपेयीलाई सिक्कीको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्री दिएर सम्मान गरिएको थियो । कापडीका अनुसार जनकपुरधाम धार्मिक नगरी भएका कारण सांस्कृतिक र आध्यात्मिक विकास हुनुपर्ने र त्यसका लागि भारत सरकारले समेत ध्यान दिने भनेर मिथिला सांस्कृतिक केन्द्रको माइन्यूटमा वाजपेयीले लेखेका थिए ।

मिथिला लोकचित्र र लोकसिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफू धेरै हर्षित भएको र त्यसलाई व्यावसायिक रुप दिनुपर्ने वाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा १ रात बसेका थिए ।

लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी गत जुन महिनादेखि भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए ।

मृगौलामा संक्रमण र केही अन्य स्वास्थ्य समस्याका कारण उनलाई अस्पतालमा भर्ना गराइएको थियो । भारत रत्नले सम्मानित वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री भएका थिए ।

वाजपेयीलाई मिथिला हस्तकला सहितको उपहार दिने क्रममा रामभरोस कापडी ।

salt training

कमेन्ट गर्नुहोस्