
काठमाडौं — महाभारतका एक पात्र बर्बरिक भीमका पुत्र घटोत्कच र नागकन्या अहिलावतीका पुत्र थिए । घटोत्कच र बर्बरिक दुवै विशाल शरीर भएका मानव थिए ।
घटोत्कचले महाभारतको युद्धमा कौरवहरूको सेना मारेर आतंक मच्चाएका थिए । घटोत्कचले हायलकायल पारेपछि दुर्योधनले कर्णलाई त्यो अस्त्र चलाउन जोड दिएका थिए जुन अस्त्र उनले अर्जुनलाई मार्न भनी बाँकी राखेका थिए ।
बर्बरिकको कुरा गर्दा उनले युद्धमा भाग लिने इच्छा देखाएका थिए र आफ्नी आमालाई हार्ने पक्षको साथ दिने वचन दिएका थिए । बर्बरिक आफ्नो नीलो घोडामा चढेर धनुषवाण सहित कुरुक्षेत्र पुगेका थिए ।
बर्बरिकलाई पूरै युद्ध जित्न चारवटा मात्र वाण चलाए पुग्थ्यो । बर्बरिकको यो क्षमता थाहा पाएका भगवान् कृष्णले पाण्डवहरूको कीर्ति कायम राख्नका लागि ब्राह्मण वेश धरेर बर्बरिकसामु पुगी छलपूर्वक उनको टाउको मागेका थिए ।
टाउको दिनुपर्ने भएपनि बर्बरिकले महाभारतको युद्ध आफूले हेर्न चाहेको बताए । अनि श्रीकृष्णले उनको कुरा माने ।
बर्बरिकले टाउको दान गरेपछि श्रीकृष्णले त्यसमा अमृत छर्केर त्यसलाई अग्लो ठाउँमा राखे । त्यहीँबाट बर्बरिकले सम्पूर्ण युद्ध हेरे ।