काठमाडौं – ललितपुरको सातदोबाटोमा निर्मित महानगरीय ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गरिएको छ । स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्ने बताए । ‘अभावको बीचमा पनि ट्राफिक प्रहरी र नेपल प्रहरी अहोरात्र खटिएको छ, यो नयाँ भवनजस्तै प्रहरीको बोली, वचन र व्यवहार पनि राम्रो हुन जरुरी छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी निरीक्षक सिताराम हाछेथुजस्तै राष्ट्रप्रति सर्मपित भएर इमान्दारिताका साथ लाग्नुपर्छ ।’
उनले राष्ट्र र नागरिकको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको भएको भन्दै गलत कार्य गर्ने प्रहरी जवान प्रहरी संगठनमा नै रहन नहुने समेत बताए ।
भवन उद्घाटन समारोहमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने धेरै कुरा गर्न नसकिएको बताए ।
ललितपुर क्षेत्रका सडक व्यवस्थापनमा आफू गम्भीर रहेको भन्दै महर्जनले निकट भविष्यमा ललितपुरमा साइकल लेन निर्माण तथा इलोक्ट्रोनिक्स सार्वजनिक बस सञ्चालन गरिने बताए । मेयर महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन योगदान पु¥याएको भन्दै प्रहरी निरीक्षण सीताराम हाछेथुको प्रशंसा समेत गरे ।
२०७२ सालदेखि निर्माण थालिएको उक्त भवन २ करोड १६ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ । उक्त भवन निर्माणका लागि ३ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएपनि २ करोड १६ लाखमा नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले जानकारी दिए । उक्त भवन निर्माणका लागि ललितपुरका १ सय ९८ जनाले आर्थिक सहयोग गरेका छन् ।
भवन उद्घाटन समारोहमा समितिले भवन निर्माणका लागि अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक सीताराम हाछेथुलाई एक लाख एक हजार सहित सम्मान गरिएको छ ।
यस्तै ट्राफिक प्रहरी परिसरका हवल्दार ईश्वरप्रसाद बञ्जारालाई ५१ हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा भवन निर्माणमा एक लाखभन्दा माथि सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो ।
महानगरीय ट्राफिक प्रहरी परिसर भवनको उद्घाटन समारोहका थप तस्वीर :