नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!
उता बरु ठिकै होला, यता झन् बेहाल छ !!
बुढा बाबु कुर्दै होलान आगनिको डिलमा बसी
फर्कीएन छोरो भन्दै पराइको देशमा पसी
फर्किने त टुंगो छैन, अझै कति साल छ
नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!
मरुभूमिको हावा पनी वास् वास् गनाउने
अत्तोपत्तो हुन्न रहेछ चाडपर्व मनाउने
वर-पीपल नी छैनन् यहाँ न त कुनै ताल छ
नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!
सधैसधा याद आउछ हिमाल पहाड तराइको
हाम्रो जस्तो हुन्न रहेछ धड्कन मुटु पराइको
सोचे जस्तो होइन रहेछ विदेश त काल छ
नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!
भर्ने कुरा छैन होला साझ-बिहान कराइमा
मुटु दुख्छ विस्तारवादले सिमा मिच्दा तराइमा
उता तिमि भन्दै छेउ नी घरमा रित्तो थाल छ
नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!
उता बरु ठिकै होला, यता झन् बेहाल छ !!
–दिलीप भुसाल, नयाँ दिल्ली