काठमाडौं – ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहको समस्याबाट पीडित छन् । ३५ करोड २० लाख मानिस मधुमेहको जोखिममा रहेको तथ्यांक छ ।
कुल जनसंख्याको १९ प्रतिशत नेपालीमा मधुमेहको समस्या रहेको काठमाडौं डाइबिटिज तथा थाइराड सेन्टरका निर्देशक डाक्टर अंशुमाली जोशी बताउँछन् ।
नेपालमा प्रत्येक परिवारमा एक न एकजना मधुमेहको बिरामी रहेको उनले बताए ।
डा. जोशीका अनुसार मधुमेहका बिरामीमा यस्ता लक्षण देखिन्छन् :
पटक–पटक पिसाब लागिरहने ।
जति खाएपनि भोक लागेजस्तो मात्रै हुने ।
शरीर कमजोर भएजस्तो अनुभव हुने ।
छाला सुक्ने, शरीर चिलाउने ।
बढी तिर्खा लागिरहने ।
दाँत र गिजा पाक्ने समस्या देखिने ।
हातखुट्टा झम्झामाउने, दुखेको थाहा नहुने ।
पिसाब नली, योनीमा संक्रमण हुने ।
यौन शक्तिमा कमी आउने ।
यस्ता व्यक्तिमा मधुमेहको सम्भावना बढी :
तनाव धेरै लिने व्यक्ति
मोटो व्यक्ति
अस्वास्थ्यकर जीवनशैली अपनाउने व्यक्ति
गर्भवती महिला
जन्मदा ४ केजी वा सो भन्दा धेरै भएको शिशु
अन्तर ग्रन्थी, प्याङ्क्रियाजको रोगी
परिवारको कुनै सदस्यमा मधुमेह भएको अवस्थामा
मधुमेहका बिरामीले समयमा उपचार र स्वास्थ्यमा ध्यान नदिँदा यसले जटिल रूप लिनसक्छ ।
मधुमेहलाई नियन्त्रण नगर्दा लाग्न सक्ने रोग :
आँखाभित्रको नशामा क्षति भई आँखा धमिलो हुने ।
रेटिनामा क्षति भई दृष्टि गुम्न सक्छ ।
हृदयघात र पक्षघातको सम्भावना हुन्छ ।
स्मरणशक्तिमा ह्रास आउँछ ।
मिर्गौला सम्बन्धि रोग लाग्न सक्छ ।
खुट्टाको नसा क्षति भई खुट्टामा घाउ चोटपटक लाग्नेको थाहा नहुने ।
घाउ लामो समयसम्म निको नहुने । पाक्ने र खुट्टा काट्न पर्ने अवस्था समेत आउन सक्छ ।
मधुमेह लाग्नै नदिन यस्ता कुरामा ध्यान दिनुस्
खानपानमा ध्यान दिने ।
नियमित शारीरिक व्यायाम र योग गर्ने ।
मदिरापान र धुम्रपान नगर्ने ।
मधुमेहको समस्या देखिएमा चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेवन गर्ने ।
सक्रिय जीवनशैली अपनाउने ।
स्वास्थ्यकर खाना खाने ।
समय समयमा स्वास्थ्य परीक्षण गराउने ।
स्वास्थ्य परिक्षण गराउँदा रगत, पिसाब, आँखा मुटु परिक्षण गराउने ।