काठमाडौं, १९ फागुन – २०७४ सालको दशैंसम्म काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी पिलाउने घोषणा गरेको सरकारले पाइप बिछ्याउने र धारा जोड्ने कामलाई तीव्रताका साथ अघि बढाएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हालसम्म खानेपानी वितरण लाइनको ५ सय ६० किलोमिटर लम्बाइमा पाइप बिछ्याइसकिएको निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि निर्देशनालयले पहिलो चरणमा ६ सय ७० किलोमिटर पाइप बिछ्याउने योजना बनाएको छ । आगामी दशैंसम्ममा ती पाइपहरू बिछ्याइसक्ने योजना रहेको निर्देशनालयले बताएको छ । उक्त पाइप चक्रपथभित्र मात्र बिछ्याइएको छ ।
त्यस्तै, मेलम्चीको पानीको भण्डारणका लागि चक्रपथबाहिर ३९ किलोमिटर पाइप बिछ्याइसकिएको निर्देशनालयले जनाएको छ । पानी भण्डारणका लागि पहिलो चरणमा ६१ किलोमिटर पाइप बिछ्याउने लक्ष्य निर्देशनालयको छ ।
निर्देशनालयले दुई वर्षअघिदेखि मेलम्चीका लागि पाइप बिछ्याउने काम थालेको थियो ।
निर्देशनालयका अनुसार पानी वितरणका लागि बिछ्याइएको पाइप उच्च गुणस्तरको छ । ‘हामीले बिछ्याएको पाइप प्वाल नपर्ने बलियो र खियाप्रतिरोधात्मक छ,’ निर्देशनालयका प्रबन्धक खनालले लोकान्तरसँग भने ।
ती पाइप कम्तीमा सय वर्षसम्म खप्ने निर्देशनालयको भनाइ छ । ग्लोबल टेन्डरमार्फत भारत, चीन र युनाइटेड अरब इमिरेट्स, अबुधाबीबाट आयात गरिएको निर्देशनालयले बताएको छ ।
४३ हजार धारा जडित
हालसम्म उपत्यकामा ४३ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । आगामी असोजसम्म ८६ हजार धारा जडान गरिसक्ने निर्देशनालयको योजना छ ।
‘आगामी असोजसम्म लक्ष्य गरेका काम सम्पन्न भइसक्नेछ,’ निर्देशनालयका प्रबन्धक खनालले थपे । यसअघि धेरैपटक भाका सार्दै आएको सरकारले आगामी दशैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी पिलाउने प्रतिबद्धता जाहेर गरिसकेको छ । पाइप र धाराको राम्रो व्यवस्थापन नहुँदा दैनिक करोडौं लिटर पानी चुहावट हुने गरेको छ ।
कति खनियो सुरुङ ?
खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार मेलम्चीको पानी ल्याउन अब ४ हजार ६ सय १६ मिटर सुरुङ खन्न बाँकी छ । सुरुङको कुल लम्बाइमध्ये करीब २३ किलोमिटर खनिसकिएको छ । मेलम्चीको पानी ल्याउन करीब २७ किलोमिटर सुरुङ खन्नुपर्छ । काम दु्रत गतिमा अघि बढेकाले आगामी असोजअगावै सुरुङ खनिसक्ने मन्त्रालयको भनाइ छ ।