२६ जेठ २०८३, मंगलबार

सवारीचालक लाइसेन्स बनाउन यत्रो महाभारत !

मंसिर १४, २०७५
सवारीचालक लाइसेन्स बनाउन यत्रो महाभारत !

बुटवल – सवारी चालक अनुमति पत्रको प्रमाणपत्र बनाउन सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

कहिले वर्षौंसम्म आवेदन नै नखुल्नेदेखि पुनः ट्रायलको समेत दर्ता नखुल्दा सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राहीका कागजात संकलन गरेर सहजीकरण गरिरहेका कार्यालयका कम्प्यूटर अपरेटरदेखि विभिन्न ड्राइभिङ इन्स्टिच्यूट समेत समस्याको मारमा छन् । उनीहरू अनलाइन फाराम भर्ने भन्दै रातभर जाग्रामसमेत बस्ने गरेका छन् । लाइसेन्सको फारम दर्ता गर्न पनि अनलाइनमा ‘सबमिट’ गर्नुपर्ने हुन्छ ।

‘तर अनलाइनको दर्ता कहिले खुल्छ पत्तो नै हुँदैन । कहिले मध्यरातमा खुल्छ र ५–१० मिनेटमै बन्द हुन्छ,’ अनलाइन फाराम भर्न कुरेर बसेका सैनामैना बाँसगढीका घनश्याम चापागाईंले लाइसेन्स आवेदनको समस्याले सताएको दुखेसो पोखे ।

यातायात व्यवस्था कार्यालय बुटवलले सवारी चालक अनुपति पत्रको रिट्रायलका लागि समेत आवेदन दर्ता खुलाएको छैन । कार्यालयको अनलाइन पनि माथिबाटै ‘सर्भर कनेक्ट’ हुने गर्छ । आवेदन दर्ता नखुल्दा गत साउनमा भएको ट्रायलमा उत्तीर्ण हुन नसकेका सेवाग्राहीले फेरि रिट्रायलका लागि आवेदन दिन पाएका छैनन् ।

एक पटक ट्रायल कटाउन नसकेकाले ९० दिनभित्र ३ पटकसम्म ट्रायल दिन पाउने व्यवस्था रहेको छ । तर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र लुम्बिनीले कात्तिक महिनासम्म पनि रिट्रायलको आवेदन दर्ता नगरेपछि साउनमा ट्रायल दिएर फेल भएका करीब २ सय ५० जनाभन्दा धेरै सेवाग्राही प्रत्यक्ष मर्कामा परेका हुन् । सेवाग्राहीले रिट्रायल दिन पाएनन् । 

रिट्रायलका लागि आवेदन दर्ता नखुलेपछि साउन महिनामा ट्रायल कटाउन नसकेका सेवाग्राहीले फेरि नयाँ आवेदन दिनुपर्ने भएको छ । नयाँ आवेदन दर्ता गर्न पनि निकै सकस व्यहोर्नुपर्ने भएकाले पहिलोपटक फेल भएका सेवाग्राही दोहारो मारमा परेका हुन् ।

फेल भएको ९० दिनभित्र ३ पटकसम्म रिट्रायल दिन पाउने व्यवस्था भएपनि विभागले आवेदन दर्ता नखुलाएपछि सेवाग्राहीले गुनासो गरेका छन् । ‘३ पटकसम्म त रिट्रायल दिन पाउनुपर्ने त हाम्रो अधिकार नै हो,’ बुटवल–५ निवासी आशिष कार्कीले भने, ‘रिट्रायलका लागि आवेदन खुल्यो कि खुलेन भन्दै ३ महिनासम्म पनि विभाग धाइयो । तर केही सीप लागेन । अब नयाँ आवेदन भर्न नि सजिलो छैन ।’

बुटवल बसपार्कस्थित मालिका ड्राइभिङ इन्स्टिच्यूटका सञ्चालक हिमाल भूषालले विभागले रिट्रायलका लागि आवेदन दर्ता नखुलाउँदा धेरै सेवाग्राही मर्कामा परेको बताए । विभागले समयमै रिट्रायलको आवेदन दर्ता नखुलाएका कारण धेरै सेवाग्राही आफूसँग गुनासो लिएर आएको बताए । 

विभागका मेकानिकल इन्जिनियर निशेष महर्जनले साउन पछाडि रिट्रायलको आवेदन दर्ता गर्न नसकिएको बताए । उनले गत असारसम्म रिट्रायल भइराखेको भएपनि साउन–कात्तिकसम्म रिट्रायल खुलाउन नसकिएको जानकारी दिए । ‘हामीसँग जनशक्ति कम थियो,’ उनले भने, ‘रिट्रायलका लागि सेड्युल (समय तालिका) मिलाउन सकेनौं ।’

विभागले दर्ता प्रणालीलाई चुस्त राख्न नसकेको कारणले गर्दा धेरै सेवाग्राही मर्कामा परेको गुनासो गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्