२९ जेठ २०८३, शुक्रबार

छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकलाई दुई वर्ष अनिवार्य जिल्ला अस्पतालमा खटाइने

मंसिर २४, २०७५
छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सकलाई दुई वर्ष अनिवार्य जिल्ला अस्पतालमा खटाइने

काठमाडौंसरकारले छात्रावृत्तिमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई दुई वर्षका लागि करारमा खटाउने भएको छ । 

सरकारी छात्रावृत्ति प्राप्त गरी सरकारी शिक्षण संस्थामार्फत् एमडी अध्ययन सकेका विशेषज्ञ चिकित्सकलाई दुई वर्षका लागि करार सेवामा खटाउन लागिएको हो । 

सरकारी शिक्षण संस्थामा छात्रावृत्ति प्राप्त चिकित्सकको विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमा उनीहरूको सेवा अवधि ५ वर्षको हुने व्यवस्था छ । तर डा. गोविन्द केसी लगायत चिकित्सकहरूले छात्रावृत्तिमा पढेका चिकित्सकको करार अवधि घटाउन माग गर्दै आएका थिए । 

५ वर्षको करार अवधि कार्यन्वयनमा आउन नसक्ने अवस्था देखेपछि स्वास्थ्य मन्त्रालयले उनीहरूको करार अवधि दुई वर्षको बनाउने तयारी गरेको हो । 

कार्यविधिमा उनीहरूको करार सेवा अवधि ५ वर्षको छ, तर यो कार्यन्वयन हुन सक्ने अवस्था छैन,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसैले स्वास्थ्य मन्त्रालयले शुरूमा दुई वर्षको सेवा अवधि राखेर उनीहरूलाई खटाउने तयारी हुँदैछ ।’

जिल्ला अस्पतालमा खटाइने

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले विशेषज्ञकता हासिल गरेका चिकित्सकहरूलाई मन्त्रालयले विशेषज्ञ चिकित्सक नभएका जिल्ला तथा अञ्चल अस्पतालहरूमा खटाउने तयारी गरेको बताए । 

‘यो वर्षदेखि छात्रावृत्तिमा पढेका एक सयभन्दा बढी विशेषज्ञता हासिल गरेका चिकित्सकहरू पाउँदैछौं,’ डा. देवकोटाले लोकान्तरसँग भने, ‘विशेषज्ञता हासिल गरेका चिकित्सकहरूलाई विशेषज्ञ चिकित्सक नभएका जिल्ला अस्पताल तथा अञ्चल अस्पतालहरूमा खटाउने तयारी भइरहेको छ ।’

सरकारले करार सेवामा खटाउने चिकित्सकलाई आठौं तह सरहको तबल सुविधा दिने व्यवस्था छ ।

सरकारको छात्रावृत्तिमा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स), त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबा १ सय ८९ जनाले एमडी अध्ययन गरेका छन् । यस वर्ष न्याम्सका ७२ जना, आईओएमका ६३ जना र बीपी प्रतिष्ठान धरानका ५४ जनाले सरकारको छात्रावृत्तिमा मार्फत् अध्ययन गरेका हुन् । 

जसमा न्याम्सको रिजल्ट प्रकाशन भइसकेको छ भने, आईओएम र बीपी प्रतिष्ठान धरानको रिजल्ट आउन बाँकी रहेको छ । आईओएम र बीपी प्रतिष्ठानको परीक्षाफल पनि प्रकाशनको तयारीमा छ ।  

सरकारी छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकहरू हरेक वर्ष उत्पादन भइरहेमा जिल्ला अस्पतालहरूमा सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने डा. देवकोटाको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्