२९ असार २०८३, सोमबार

पहिला मेरो नामले अनमोल चिनिन्थ्यो, अहिले म अनमोलको बुवा भनेर चिनिन्छु : भुवन केसी

पुस ७, २०७५
पहिला मेरो नामले अनमोल चिनिन्थ्यो, अहिले म अनमोलको बुवा भनेर चिनिन्छु : भुवन केसी

काठमाडौं – भुवन केसी नेपालका सदाबहार अभिनेता मानिन्छन् । उनको परिचय त्यतिमा मात्र सीमित छैन, उनी निर्माता तथा निर्देशक पनि हुन् ।

पछिल्ला वर्ष उनलाई अर्को एउटा परिचयले पनि दर्शकमाझ चिनाउने गरेको छ । त्यो हो – अभिनेता अनमोल केसीका बुवा । 

अनमोल युवा पुस्तामाझ परिचित छन् । यिनै बुवाछोराको नयाँ चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । भुवन चलचित्रका निर्माता हुन् भने अनमोल मुख्य अभिनेता । एकपछि अर्को सफल चलचित्र दिइरहेका अनमोलको ‘क्याप्टेन’ छैठौं चलचित्र हो ।

चलचित्रमा अनमोल फुटबल खेलाडीका रुपमा प्रस्तुत छन् । ‘क्याप्टेन’लाई लिएर भुवनमा पनि छुट्टै उत्साह छ । खेलसँग जोडिएका कारण उत्साहित भुवन चलचित्रलाई आफ्नो जीवनकै ‘ड्रीम’ प्रोजेक्ट भएको बताउँछन् ।

लोकान्तरसँगको कुराकानीमा भुवनले भने, ‘यो मेरो जीवनकै ‘ड्रीम प्रोजेक्ट’ हो । ‘क्याप्टेन’ मेरो मात्र चलचित्र होइन, फुटबल खेलप्रेमी लाखौं नेपालीको आफ्नै चलचित्र हो ।’

फुटबलको धारलाई टेकेर चलचित्र निर्माण गर्नु आफैंमा चुनौतीको काम भएपनि सबै पक्षको सपोर्टमा चुनौतीलाई चिर्दै ‘क्याप्टेन’ निर्माण सफल भएको भुवन बताउँछन् । 

कहिल्यै फुटबल नखेलेका अनमोल

अचम्मको कुरा त के छ भने चलचित्रमा फुटबल खेलाडीको रुपमा प्रस्तुत अनमोलले जीवनमा कहिल्यै फुटबल खेलेका थिएनन् । फुटबलबारे सामान्य ज्ञान समेत नभएका अनमोलका लागि ‘क्याप्टेन’को क्यारेक्टर निर्वाह गर्नु ठूलो चुनौती थियो ।

‘विद्यालयमा म बास्केट बल खेल्थें । सुटिङमा कत्ति गाह्रो भो–भो,’ केही दिनअघि एक कार्यक्रममा अनमोलले भने ।

छायांकनअघि अनमोलले ३ महिना फुटबल प्रशिक्षण लिए । नेपाली राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान हरि खड्काले फुटबलको प्रशिक्षण दिएका थिए । फुटबल प्रशिक्षण गरेर फर्केपछि साँझ अनमोल बुवा भुवनसँग भन्थे, ‘धेरै थाकें, फुटबल त सोचेभन्दा धेरै गाह्रो खेल रहेछ ।’ 

भुवन अनमोललाई फुटबल खेलाउन निकै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । एन्फाका पूर्वकप्तान हरि खड्का लगायत फुटबलका राष्ट्रिय खेलाडीको साथ, अनमोलमा रहेको सिकाइ प्रतिको तीब्र लगाव, निर्देशक दिवाकर भट्टराई र सिंगो टीमका कारण नै चलचित्र निर्माण सफल भएको भुवन बताउँछन् ।

‘अनमोलको लगाव देखेर अचम्ममा पर्छु’

अनमोलको बाल्यकाल चलचित्र वातावरणमा बित्यो । त्यसैले पनि अनमोलको लगाव चलचित्रप्रति औंधी थियो । जब अनमोल चलचित्र ‘होस्टेल’ मार्फत् उदाए, उनको क्रेज ‘दिन दुई गुणा रात चौगुणा’का रुपमा बढ्दै गयो । ‘क्याप्टेन’ अनमोलको छैठौं चलचित्र हो । क्याप्टेनसम्म आइपुग्दा चलचित्र क्षेत्रमा उनको उचाइ लोभलाग्दो छ ।

अनमोलको कामप्रतिको लगाव नै त्यसको मुख्य कारण भएको भुवन बताउँछन् । ‘अनमोल काममा ज्यान दिएर लाग्छ,’ लोकान्तरसँगको कुराकानीमा भुवन भन्छन्, ‘उसले गरेको मेहनत देखेर म नै अचम्ममा पर्छु ।’

छानेर मात्र चलचित्र अभिनय गर्नु अनमोलको विशेषता भएको भुवन बताउँछन् । अनमोललाई लिएर चलचित्र बनाउन धेरै निर्माता आफूकहाँ आउने गरेको बताउँदै उनले बुवाछोराको छलफल हुने गरेको बताए । 

‘चलचित्रको विषय र टीम हेरेर मात्र अनमोलले काम गर्छ । मेरो सुझाव पनि त्यहीँ रहन्छ,’ उनी भन्छन्, ‘आएका जति चलचित्र खेल्ने हो भने त अनमोलको वर्षमा १०–१२ वटा चलचित्र प्रदर्शन हुन्थे ।’ यसमा आफूले पनि ‘गाइडलाइन’ दिँदै आएको भुवनले बताए ।

छोराको सफलता देखेर आज भुवन खुशी छन् । हाँस्दै भन्छन्, ‘हिजो भुवनको छोरा भनेर उसलाई चिनाउनुपर्ने ठाउँमा आज अनमोलको बुवा भनेर म चिनिन पाएको छु ।’

बुवाछोराको जीवन नै चलचित्र क्षेत्र रहेको बताउँदै आफूहरू दिनरात चलचित्रबारे छलफल गर्ने बताउँछन् । ‘हाम्रो घरमा पनि चलचित्र क्षेत्रबारे धेरै गफ हुन्छ । चलचित्र उद्योगमा अनमोल मन, वचन र कर्मले लागिरहेको छ । दर्शकका लागि राम्रो–राम्रो चलचित्र दिने प्रयास गरिरहेको छ । यसमा म अत्यन्तै खुशी छु,’ भुवनले सुनाए ।  

चलचित्र निर्माण ‘टीम वर्क’

पछिल्लो समय हेर्ने हो भने केही चलेका कलाकार र ब्राण्डको मात्र चलचित्र चलेका छन् । वर्षमा प्रदर्शनमा आउने १ सय बढी चलचित्रमा ५ प्रतिशत चलचित्रले मात्र लगानी उठाउँछन् । भुवन त्यसको कारण ‘टीम वर्क’ कम भएको बताउँछन् । ‘कुनै चलचित्र कलाकारको क्रेजले चल्ला, कुनै ब्राण्डले तर ‘टीम वर्क’ विनाका चलचित्रहरू सफल हुँदैनन्,’ उनी भन्छन् ।

पछिल्लो समय रहरले चलचित्र उद्योगमा आउने क्रम बढेकोमा भुवन दुःखी देखिन्छन् । ‘रमाइलो क्षेत्र ट्राई गर्छु भनेर आउनेहरू धेरै छन्,’ उनी भन्छन्, ‘ट्राई गर्न आएका केही झुक्किएर सफल होलान् । तर पछि फेरि असफल हुन्छन्् र यो क्षेत्रबाटै हराउँछन् ।’ 

कथा लेखन, प्राविधिक टोली, कलाकारदेखि चलचित्र हलसम्म पुग्दा सबै टीमको लगाव भयो भने चलचित्र सफल हुने उनले बताए । पछिल्लो समय भने नेपाली चलचित्र हेर्ने वातावरणको सिर्जना भएको भुवन बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्