२२ असार २०८३, सोमबार

शान्ति र समृद्धिका लागि योग

माघ २, २०७५
शान्ति र समृद्धिका लागि योग

अच्युत शाली घिमिरे

संस्कृतको युज् धातुबाट बनेको योगको अर्थ हुन्छ जोड्नु। आत्माको परमात्मासंगको मेल नै योग हो। "योग:चित्तवृत्ति निरोध"-पतञ्जलि, अर्थात चित्त(मन) का वृत्तिको निरोध नै योग हो।

विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक,मानसिक,सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनु पर्ने व्याख्याले योगको महत्व अझ बढाउदछ। शान्तिका दूत गौतम बुद्ध देखि भगवान शिव र हजारौं ऋषिमुनिहरुको साधना भूमिको रुपमा रहेको नेपाल योगको उद्गम भूमिको रुपमा स्थापित छ।यसरी आज माघ १ गते राष्ट्रिय योग दिवसको दिनमा व्यक्ति,समाज र राष्ट्रको शान्ति र समृद्धिको यात्रामा योगको भूमिका के के हुन सक्छन् विचार विमर्श हुनु पर्ने जरुरी छ।

शान्तिका लागि योग

शरीर,इन्द्रिय,मन र आत्माको संयोग नै आयु हो।आयुर्वेद अनुसार शरीरका सम्पूर्ण दोष, अग्नि,धातु,मल क्रियालाई सम अवस्थामा राखेर आत्मा ,इन्द्रिय र मनको प्रसन्न राख्नु नै स्वास्थ्य हो । विभिन्न मानसिक विकारहरुलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउदा, योग मार्फत शान्ति प्राप्त हुन सक्छ।योगले विभिन्न आसन,प्राणायम,ध्यान,समाधि,षट्क्रिया मार्फत लोभ,मोह र क्रोधबाट मुक्त गराउन सक्छ।अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउदै खानपान,कुलत ,तनावबाट मुक्त गराई योगले मानिसमा असल जीवनयापनका पद्धतिहरु विकास गर्दछ। दिर्घकालिन एंव नसर्ने रोगहरुको नियन्त्रण र उपचारमा उपयोगी हुने योगले विभिन्न शरीरका दोषहरुलाई निकालेर शुद्धिकरण प्रक्रियामा भूमिका निभाउदछ।यसरी सु-स्वास्थ्य एंव साधना मार्फत योगले व्यक्ति,समाज र राष्ट्रमा शान्ति,सहिष्णुता,एकता,भातृत्वको भावना जागृत गर्न मद्दत पुर्याउदछ।

समृद्धिका लागि योग

प्राकृतिक सुन्दरता र मनोरम हिमृश्रंखलामा धनि देश नेपाल आदिकाल देखि ऋषिमुनि तपस्विहरुको साधना स्थलका रुपमा परिचित छ। आउदै गरेको भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै विश्व भरि नै योगको बारेमा महत्वपूर्ण प्रचार प्रसार गर्दै योग पर्यटन मार्फत देशको समृद्धिको ढोका खोल्न सकिन्छ।

काठमाडौं,पोखरा,चितवन जस्ता पर्यटकीय स्थलहरुमा योग अभ्यास गर्ने गराउने योग र साधनाका केन्द्रहरु खोलेर सरकारले व्यवस्थित गर्नु पर्दछ। साथै योग र ट्रेकिंग लाई जोडेर टुर प्याकेजहरु निर्माण गर्न सकेमा निजि व्यवसायिहरु समेत लाभान्वित हुन सक्छन्।

योग प्रशिक्षकहरुको जीविकोपार्जन हुनुको साथै योग पर्यटनले विश्वमाझ नेपाललाई योगभूमिका रुपमा चिनाउन समेत मद्दत पुर्याउदछ।

योग चिकित्सा अन्तर्गत रहेर नसर्ने रोगहरुमा उलेख्य प्रगति गर्न सके प्राकृतिक र सांस्कृतिक बनोटमा नेपालले प्रवाह गर्ने गुणस्तरीय स्वास्थ्य सेवाको सन्देश समेत विश्वभर प्रवाह हुन सक्छ।योग आसन र स्वस्थ जीवनशैलीमा सबैमा ध्यानाकर्षण गर्न सके स्वास्थ्य उपचारमा लाग्ने राज्यको भार समेत कम गराउन सकिन्छ।

योग खेलकुद मार्फत विभिन्न अन्तराष्ट्रिय खेलकुदमा सहभागी भएर देशको नाम उच्च बनाउदै खेलकुद पूर्वाधार विकासमा विदेशी लगानी समेत भित्र्याउन सकिन्छ।योग शिक्षा मार्फत विधालयको पठन पाठन देखिनै योगलाई जोड्न सक्यौ भने यसबाट मानिसको जीवनयापनमा परिवर्तन गर्दै समुन्नत नेपालको कल्पना गर्न सकिन्छ।यसरी योगलाई पर्यटन, चिकित्सा,खेलकुद,शिक्षा,पूर्वाधार आदि संग जोडेर हेर्दा राष्ट्रको समृद्धिको यात्रा सहज देख्न सकिन्छ। साथै मानव विकासको सूचाकंकमा समेत अनुकरणीय प्रगति गर्दै यस यात्राले सन् २०३० सम्ममा दीगो लक्ष्य हासिल गर्ने उद्देश्यलाई समेत टेवा पुर्याउन सक्छ।

salt training

कमेन्ट गर्नुहोस्