२२ असार २०८३, सोमबार

स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडक बन्द नहुने​

असार २२, २०८३
काभ्रेपलाञ्चोक
स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडक बन्द नहुने​
फाइल फोटो

वर्षात्‌का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातको समयमा यातायात सेवा बन्द नगरी स्तरोन्नति गरिने भएको छ ।

सो सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ ।

निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो ।

उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो ।

केही दिनको वर्षाले ‘सीटीबी’ तथा ‘डीबीएम’ गर्न सडक सम्याएर हालिएको सब–बेश केही स्थानमा बगाएको र कतै क्षति पुर्‍याएकाले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकाले सडक बन्द नहुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पत्राचार गरी आजदेखिको निर्धारित कार्यतालिका फेरबदल गर्नु परेकाले केही समय सार्ने जानकारी गराएको हो ।

यसअघि जिल्ला सुरक्षा समिति काभ्रेले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरिने निर्णय गरेको थियो ।

उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । विस्तारित उक्त सडकखण्डको दूरी चार किलोमिटर रहेको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखिनै राति यातायात रोकेर निर्माणकार्यलाई तीव्रता दिने जनाएको थियो । तर आर्थिक वर्षको अन्त्यको समय भएकोले निर्माण सामग्री ढुवानीमा प्रभावित हुने भएकाले समितिले सडक निर्माण प्रक्रियालाई केही ढिलाई गर्न लगाएको थियो ।

गत चैतमा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर अढाई किमी कालोपत्रे (डीबीएम–पीच)को काम गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्