३१ असार २०८३, बुधबार

जलस्रोतको धनी देशमा जापानदेखि युरोपसम्मबाट पानी आयात, आफ्नै पानीमा विश्वास गर्दैनन् नेपाली !

माघ ७, २०७५
जलस्रोतको धनी देशमा जापानदेखि युरोपसम्मबाट पानी आयात, आफ्नै पानीमा विश्वास गर्दैनन् नेपाली !

काठमाडौं – जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिने नेपालमा एक दर्जनभन्दा बढी मुलुकबाट पानी आयात हुने गरेको पाइएको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक दर्जन मुलुकबाट वार्षिक करोडौं रूपैयाँको पानी आयात हुने गरेको छ ।

नेपालमा चीन, भारत, फिलिपिन्स, फ्रान्स, बेलायत, थाइल्याण्ड लगायतका मुलुकबाट पानी आयात भएको उक्त तथ्याङ्कमा उल्लेख छ । यसका अलावा जापान, मलेसिया, स्विडेन, लिथुनिया, सिंगापुर र नर्वेबाट पनि नेपालमा पानी आयात भएको देखिन्छ ।

गएको तीन आर्थिक वर्षमा कुल ५ करोड ९ लाख ५८ हजार ७ सय ९८ रुपैयाँको पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०१७/०१८ मा नेपालमा कुल १ करोड ८१ लाख ६७ हजार ५ सय ७४ रुपैयाँको पानी आयात भएको छ । उक्त आर्थिक वर्षमा कुल ३ लाख ८६ हजार १ सय १४ लिटर पानी आयात भएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०१६/०१७ मा १ करोड ३७ लाख ४५ हजार १ सय ६९ रूपैयाँको पानी आयात भएको केन्द्रको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा नेपालमा कुल ३ लाख ४४ हजार ४ सय ३९ लिटर पानी आयात भएको छ । आर्थिक वर्ष २०१५/०१६ मा १ करोड ९० लाख ४६ हजार ५५ रूपैयाँ बराबरको ९ लाख ४३ हजार १ सय ६७ लिटर पानी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

विभिन्न तारे होटेलहरूमा प्रयोग गरिने पानी मिनरल वाटरको नाममा आयात हुने गरेको हुने र नेपालीहरूले आफ्नै मुलुकमा उत्पादन हुने पानीमाथि विश्वास गर्न छाडेका कारण पनि पानीको आयातमा मद्दत पुगेको जानकारहरु बताउँछन् ।

नेपालमा करोडौं रूपैयाँको पानी आयात भइरहँदा नेपालबाट विभिन्न मुलुकमा पछिल्लो तीन वर्षमा १७ लाख ४८ हजार २ सय १८ रूपैयाँ बराबरको पानी निर्यात भएको छ ।

आर्थिक वर्ष २०१७/०१८ मा नेपालबाट कुल १२ लाख ५७ हजार २ सय ९९ रूपैयाँ बराबरको पानी निर्यात् भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०१६/०१७ मा नेपालबाट १ लाख ३७ हजार १ सय ३ रूपैयाँको र आर्थिक वर्ष २०१५/०१६ मा ३३ हजार ३ सय ८ रूपैयाँ बराबरको पानी नेपालबाट निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका केन्द्रका अधिकारीहरुले आयात तथा निर्यातको मुख्य वस्तुको सूचीमा पानी नपर्ने भएकाले पछिल्लो आर्थिक वर्ष २०१८/०१९ को तथ्याङ्क केन्द्रमा आइनपुगेको बताउँछन् । मुख्य रूपमा आयात तथा निर्यात हुने वस्तुको मात्रै पछिल्लो ८ महिनाको तथ्याङ्क संकलन भइसकेको र अन्य वस्तुको आयात तथा निर्यातको तथ्याङ्क संकलन भइनसकेको अधिकारीहरुको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्