
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीवार देशवासीका नाममा सम्बोधन गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढेको बताए । उनले उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको बताए ।
उनले सम्बोधनको क्रममा उद्योग दर्ताको संख्या बढेको र उत्पादनमूलक उद्योगमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको बताएपनि समग्रमा औद्योगिक क्षेत्रमा लगानी घटेको छ ।
‘कम्पनी दर्ताको संख्या २६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । उद्योगको क्षमता वृद्धि भएको छ । औद्योगिक उत्पादनको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी २८ दशमलव ३ प्रतिशतले बढेको छ । औद्योगिक गतिविधिमा विस्तार भएको छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भनेका थिए ।
उद्योग विभागका अनुसार उत्पादनमूलक क्षेत्रका उद्योगमा चालू आर्थिक वर्षमा लगानी घटेको छ ।
गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रका उद्योगमा कुल ४८ अर्ब ७६ करोड ७७ लाख ७० हजार रुपैयाँ बराबर पूँजी लगानी भएकोमा चालू आर्थिक वर्षमा सो लगानी घटेको छ ।
चालू आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ८४ करोड ७५ लाख १ हजार रुपैयाँ जम्मा पूँजीका उत्पादनमूलक उद्योग दर्ता भएको विभागको तथ्याङ्क छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा समग्रमा औद्योगिक क्षेत्रको लगानी घटेको छ । गत आर्थिक वर्षको साउनदेखि पुस मसान्त र चालू आर्थिक वर्षको सोही अवधिमा औद्योगिक क्षेत्रको समग्र लगानी २९ दशमलव ६७ प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा कुल १ खर्ब १५ अर्ब २५ करोड ४७ लाख १० हजार रुपैयाँ बराबर पूँजीका उद्योग दर्ता भएका छन् । सो अवधिमा कुल २ सय ६८ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्क छ । गत आर्थिक वर्षको सो अवधिमा कुल २ सय ३५ उद्योग दर्ता भएका थिए । ओलीले सम्बोधनमा भनेजस्तो उद्योगको संख्यामा वृद्धि भएपनि पूँजीगत रूपमा लगानी भने घटेको छ ।
गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कुल १ खर्ब ६३ अर्ब ८६ करोड ३२ लाख ७० हजार रुपैयाँ पूँजी बराबरका उद्योग दर्ता भएका थिए ।
यी क्षेत्रमा कम लगानी
तुलना अवधिमा ऊर्जा क्षेत्रमा लगानी घटेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा कुल ९७ अर्ब ८९ करोड १५ लाख ८० हजार रुपैयाँ बराबर पूँजी भएका ऊर्जामूलक उद्योग विभागमा दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब ७८ करोड २० हजार रुपैयाँ बराबर पूँजीका ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।
चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा समेत लगानी घटेको छ । निर्माण क्षेत्रमा कुल १ अर्ब २ करोड ४० लाख ३० हजार रुपैयाँ बराबर पूँजी भएका उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा निर्माण क्षेत्रका ४ अर्ब १ करोड १ लाख रुपैयाँ बराबर लगानीका उद्योग दर्ता भएका थिए ।
त्यस्तै चालू आर्थिक वर्षको सो अवधिमा पर्यटन क्षेत्रमा समेत लगानी घटेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म पर्यटन क्षेत्रमा ६ अर्ब ५५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ४२ करोड ५३ लाख रुपैयाँ सो क्षेत्रमा लगानी भएको थियो ।
तुलनात्मक रूपमा लगानी बढेका क्षेत्र
चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा लगानी बढेको देखिन्छ । गत आर्थिक वर्षमा ३२ करोड ३७ लाख रुपैयाँ बराबर पूँजीका कृषि क्षेत्रका उद्योग उद्योग विभागमा दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा कृषि क्षेत्रमा कुल १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ पूँजीका क्षेत्रका उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ ।
त्यसैगरी चालू आर्थिक वर्षमा सेवा क्षेत्रमा भएको लगानी बढेको छ । चालू आर्थिक वर्षमा सो क्षेत्रमा ४ अर्ब ३० करोड ७५ लाख ८० हजार रुपैयाँ लगानी भएको छ ।
गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको लगानी भएको थियो ।
त्यस्तै सूचना, प्रशारण तथा सञ्चार प्रविधि क्षेत्रमा चालू आर्थिक वर्षमा लगानी सामान्य बढेको छ ।
सो क्षेत्रमा गत आर्थिक वर्षमा ३७ करोड ३० लाख रुपैयाँ पूँजीका उद्योग दर्ता भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा ३७ करोड ५९ लाख २० हजार रुपैयाँ पूँजी बराबरका उद्योग दर्ता भएका छन् ।
रोजगारीमा समेत कमी
सरकारले रोजगारीलाई विशेष प्राथमिकता दिएको बबताउँदै आएपनि चालू आर्थिक वर्षमा रोजगारी पाउनेको संख्यामा कमी आएको देखिएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दर्ता भएका उद्योगमा कुल १३ हजार ५ सय ९ जनाले रोजगारी पाएको विभागको तथ्याङ्क छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल १३ हजार ८ सय ८३ जनाले रोजगारी पाएका थिए ।
उद्योगीहरू बैंकहरूले कर्जा प्रवाहमा ब्याज बढाएका कारण औद्योगिक क्षेत्रमा लगानी कम भएको बताउँछन् । बैंकहरूले कर्जामा बढाएको ब्याजका कारण लगानी गर्नमा समस्या आएको व्यवसायीहरू बताउँछन् ।