०२ साउन २०८३, शनिबार

साउदी युवराजले पाकिस्तानलाई दिए २० अर्ब डलर

साउदी युवराजले पाकिस्तानलाई दिए २० अर्ब डलर

काठमाडौं — साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आइतवार पाकिस्तानसँग २० अर्ब डलर बराबरका आठ सम्झौतामा हस्ताक्षर गरेका छन् । 

युवराज भएपछि सलमानले गरेको यो पहिलो पाकिस्तान यात्रा हो । उनको यात्रा एक दिन ढिलो गरी भएको हो । 

साउदी र पाकिस्तानबीचको सम्झौतामा पाकिस्तानी बन्दरगाह ग्वादरमा साउदीको तेल कम्पनी आरामकोको रिफाइनरी बनाउने कुरा पनि समावेश छ । आरामको संसारको सबभन्दा ठूलो रिफाइनरीमध्ये एक हो । 

अल अरबिया न्युज च्यानलले साउदी युवराजलाई उद्धृत गर्दै भन्यो, ‘पाकिस्तान साउदी जनताको प्रिय मुलुक हो र हामीहरू पहिलेदेखिकै साझेदार हौं ।’

उनले साउदी अरब र पाकिस्तानबीचको आर्थिक साझेदारी विशेषगरी पर्यटन क्षेत्रमा विस्तार गर्ने हिसाबमा गरिने बताए । 

युवराज सलमान आइतवार र सोमवार दुई दिन गरी पाकिस्तानको भ्रमण गरिरहेका छन् । यसपछि उनी भारत र चीन पनि जानेछन् । 

सलमान र उनको प्रतिनिधिमण्डलको भव्य स्वागतका लागि इस्लामाबादमा विशेष प्रबन्ध गरिएको थियो । संसद् भवनमा सलमानको १२० फीट अग्लो र ४५ फीट चौडा तस्वीर राखिएको छ । 

त्यहाँ पुग्नेबित्तिकै उनलाई २१ तोपको सलामी दिइयो । सलमानको विमान रावलपिन्डीको नूर खान वायुसेना अड्डामा उत्रिएको थियो । विमानबाट बाहिर निस्केपछि प्रधानमन्त्री इमरान खानले उनलाई स्वागत गरे । 

प्रोटोकल तोडेर इमरान खानले आफैं गाडी चलाएर सलमानलाई प्रधानमन्त्री निवास लगे र त्यहाँ उनको स्वागतमा विशेष कार्यक्रम राखियो । 

सलमानको सुरक्षाको व्यापक व्यवस्था गरिएको छ र सबै महत्त्वपूर्ण सरकारी कार्यालय र दूतावाससम्म जाने बाटो सील गरिएको छ । शहर र प्रवेश नाकाहरूमा एक हजारभन्दा बढी सुरक्षा जाँच चौकी राखिएको छ । 

कार्यालयमा काम गर्ने र विद्यार्थीहरूलाई अप्ठ्यारो नहोस् भनेर सोमवार बिदा समेत दिइएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्