
पोखरा - पोखराका पर्यटन व्यवसायी विप्लव पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डको संचालक समितिमा नियुक्ति गरेकोछ । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै पौडेल सहित पर्यटन व्यवसायी पम्फादेवी धमलालाई तीन वर्षको लागि बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।
पोखरा आफैंमा सुन्दर पर्यटकीय शहर भएपनि ३ वर्षयता यस क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व हुन सकेको थिएन ।
पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी गु्रपका (होटल बाराही, बाराही जंगल लज, साराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा)का कार्यकारी निर्देशक हुन् । पौडेलले नेपाल पर्यटन वर्ष–२०११ को कार्यसम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरी सकेका छन् भने नेपाल भ्रमण बर्ष–२०२० को उपसमितिका सदस्य पनि हुन् ।
बाल्यकालबाटै पर्यटन व्यवसायमा सक्रिय रहेका पौडेल पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष र नेपाल होटल संघका केन्द्रिय सदस्य समेत हुन् ।
बोर्ड सदस्यमा नियुक्त भए पछि प्रतिक्रिया दिँदै पौडेलले समग्र पर्यटन क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई प्रयोग गर्ने बताए । ‘लामो समयदेखि पर्यटन क्षेत्रमा आर्जेको ज्ञानलाई समग्र पर्यटन क्षेत्रको बिकासमा लगाउने छु,’ उनले भने, ‘गण्डकी प्रदेशको मात्र नभएर देशकै पर्यटन उद्योग समृद्ध बनाउन क्षमताले भ्याएसम्म प्रयत्न गर्नेछु ।’
सरकारले विश्वास गरेर दिएको जिम्मेबारी ईमान्दारितापूर्वक पुरा गर्ने पौडेलले बताए ।