
काठमाडौं- नेपालको लोकप्रिय लोकरक ब्याण्ड नेपथ्य आउँदो मार्च १५ तारिक दुबई शहरमा गुञ्जिने भएको छ ।
ब्याण्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगितिक यात्रामा हिडिरहेको नेपथ्य दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा गुञ्जिने भएको हो ।
भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेको हो । ब्याण्डका प्रमुख गायक अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई जाने तयारी छ । दुबईस्थित एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्र सूर्जे...’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’लगायत बोलका आफ्नो लोकप्रिय गीतहरु दर्शकमाझ सुनाउनेछन् ।
कन्सर्टमा स्वदेशी तथा विदेशी गरी तीन हजारभन्दा बढी दर्शक ल्याउने तयारी अनुसार प्रचारप्रसार भइरहेको दुबईस्थित आयोजकका रमेश ढकालले जानकारी दिए ।