काठमाडौं - हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि देश नै शोकमा छ ।
अचानक आइलागेको यो बज्रपातबाट मृतकका परिवार सम्हालिन सकिरहेका छैनन् ।
भावविह्वल हुँदै काठमाडौं आइपुगेका रवीन्द्रका आमाबुवा छोराको अन्तिम संस्कारको तयारीका लागि पोखरा फर्किएका छन् भने पत्नी विद्या भट्टराई पुल्चोकस्थित मन्त्री निवासमा विक्षिप्त अवस्थामा छिन् ।
कम्प्युटर इञ्जिनीयरिङ अध्ययनका क्रममा दिल्लीमा रहेका रवीन्द्रका जेठा छोरा विराज अधिकारी बिहीवार काठमाडौं आइपुगेका छन् । उनी साँझ ६:१५ मा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा प्रवेश गरे ।
श्रीमानको मृत्युपश्चात् भावविह्वल बनेकी आमालाई रुँदै अंगालो हालेका विराजले सम्हालिँदै भने- आमा, म आएँ चिन्ता नलिनुस् !
शुरूमा आफैं पनि भावविह्वल बनेका विराज एक घुट्को पानी पिउँदै सम्हालिएका थिए ।
कान्छा छोरा स्वराज अधिकारी भने पोखरामै छन् । उनी कक्षा चारमा अध्ययन गर्छन् ।
छोराको आगमनसँगै थोरै सम्हालिए पनि विद्याका आँखा ओभाएका छैनन् । आफन्त तथा शुभेच्छुकहरूले क्वार्टरमै पुगेर शोकाकूल परिवारलाई सान्त्वना दिइरहेका छन् ।
शुक्रवार टुँडिखेलमा हुने श्रद्धाञ्जलि सभामा रवीन्द्रका पत्नी विद्या र जेठो छोरा विराज सहभागी हुनेछन् ।
भिडियो :