
काठमाडौं –बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भयो ।
दुर्घटना भएको हेलिकप्टर पर्यटन व्यवसायी आङछिरिङकै स्वामित्वमा रहेको एयर डाइनेस्टीको थियो । दुर्घटनामा पर्नुअघिसम्म पनि शेर्पा पर्यटनको सम्भावना अध्ययन गर्न मन्त्रीसहित ताप्लेजुङ पुगेका थिए ।
शेर्पा निकट मानिने पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले शेर्पालाई अत्यन्त परिश्रमी र विगतलाई कहिल्यै नभुल्ने व्यक्तिको रूपमा चित्रण गरेका छन् । लोकान्तरका लागि ईश्वर अर्यालसँग कुरा गर्दै शाहीले शेर्पाको निधनले नेपालको पर्यटन व्यवसायमा अपूरणीय क्षति भएको टिप्पणी गरेका छन् । शाहीको टिप्पणी उनकै शब्दमा :-
दिवंगत आङछिरिङ शेर्पा र मेरो सम्बन्ध २०५२ सालदेखि थियो । तत्कालीन पर्यटनमन्त्री बलबहादुर केसीसहित आङछिरिङ शेर्पाको एउटा टीम मानसरोवर जाने भनेर हुम्ला हुँदै आयो ।
त्यतिबेला म नेपाली कांग्रेसको हुम्लाको सभापति थिएँ । म पनि सँगै गएँ । तर हिल्सा नाकाबाट चीनको सीमा कटेपछि त चीनले जम्मा ८ जनाको लागि गाडी पठाइदिएको रहेछ । मन्त्री र सांसदहरूलाई त्यता पठाएर म र छिरिङ शेर्पा शेर गाउँमा बस्यौं । एक रातभर गफ गर्यौं ।
अधिकांश नेपालीले नेपालमा मौका नपाएको खण्डमा बाहिर जाने गर्छन् । तर उनले नेपालमै गरेर देखाए । उनी धेरै शिक्षित पनि थिएनन् । मलाई कहिलेकाहीँ भन्थे, ‘दाइ ! म त जम्मा ३ कक्षासम्म पढेको मान्छे, भारी बोकेर पर्यटन व्यवसायी बनेको हुँ ।’
उनी जहाँ पुगेको भएपनि व्यक्तित्वमा एउटा यथार्थता झल्किने गर्दथ्यो । हुनेखाने भइसकेपछि आफ्नो विगतलाई बिर्सिने बानी हुन्छ कतिपयको । त्यो उनमा पटक्कै थिएन । एक हिसाबले भन्दा उनी ‘डाउन टु अर्थ’ थिए ।
‘दाइ ! म कुन दिन के हुन्छु मलाई थाहा छैन । म हप्तामा एक पटक च्यूरा–आलू खाने ठाउँमा जाने गर्छु, त्यहाँ भेटिने आम मानिसलाई देख्दा मलाई विगतको याद आउँछ । म विगतलाई बिर्सिन सक्दिनँ,’ उनी मलाई भन्ने गर्थे ।
उनी जतिसुकै धनी मान्छे भएपनि लवाइखवाईमा त्यो कहिल्यै झल्किएन । उनलाई बाहिरबाट नचिनेको मान्छेले देख्यो भने अति सामान्य देख्थ्यो ।
मान्छेहरूमा कतिपय कमजोरी हुन सक्छन्, त्यसमा उनी अपवाद थिएनन् । तर मलाई के कुरा राम्रो लाग्छ भने उनमा यो देशमा गाउँमा जन्मेर हुर्केर पनि यही देशमा केही गर्नुपर्छ भन्ने भावना थियो । उनका अधिकांश समकक्षी जापान, अमेरिका, युरोप गएर सेटल भए । तर उनी यही देशमा केही गरौं भन्ने भावना लिएर अन्तिमसम्म पनि संघर्ष गरिरहे ।
उनले जे गरे, व्यक्तिगत रूपमा आफू धनी बन्ने सपना पनि होला । तर त्यो देशको लागि गरे । नाम जे भएपनि हिमालयन एयरलाइन्स अहिले नेपालको अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली एयरलाइन्स हो भनेर चिनिन्छ । देशभित्र पो व्यक्तिको भनेर चिनिन्छ । तर बाहिर त नेपालको सम्पत्ति हो भनेर चिनिन्छ नि !
अहिले तपाईंहरूले पनि देखिरहनुभएको छ, चाइनिज पर्यटकले ठमेल भरिएको छ । त्यसले नेपालीको रोजगारी वृद्धि भएको छैन । बरू रोजगारी खोसिएको छ । उनले नेपाल ल्याएका पर्यटक यहाँका मान्छेको रोजगारी वृद्धि गर्ने खालका हुन्थे । पर्यटकहरू नेपाल आएपछि भरियादेखि खाना खुवाउने होटेलमा पनि नेपालीले काम गरिरहेका हुन्थे ।
‘ग्राउन्ड लेवल’बाट आएर नेपालको पहिलो पंक्तिको पर्यटन व्यवसायी बन्न उनलाई सजिलो थिएन । त्यसका लागि धेरै नेता, अन्य व्यवसायी, विदेशीसँग सम्बन्ध हुनु अपरिहार्य थियो । कतिपयले हामीलाई पनि आरोप लगाउने गर्दछन्, मन्त्री भएर पनि व्यवसायीसँग हिमचिम बढायो भनेर । पर्यटनमन्त्रीले पर्यटन व्यवसायीसँग सम्बन्ध राखेन भने पर्यटन क्षेत्र कसरी सुधार हुन सक्ला र ?उनी पर्यटनको विकास विना नेपालको समृद्धि आउन्न भन्ने मान्यताबाट निर्देशित थिए । पर्यटनले नेपालीको आयवृद्धि गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।
तर उनको सम्बन्ध ठूला मान्छेसँग जस्तो थियो । साना मान्छेसँग पनि उस्तै थियो । उनले आफ्नो विगत बिर्सिएको भए पर्यटकको भारी बोक्ने सामान्य मान्छेसँग पनि सँगै बसेर चिया पिउँदैन्थे ।
हेर्दाखेरी वा सामान्य रूपमा बोल्दाखेरी यो मान्छे छुच्चो होला कि भन्या जस्तो तर साँच्चै खुला हृदय भएका मान्छे थिए उनी । सम्बन्धको कुरा त कहिले प्रचण्डसँग नजिक छ भन्थे, कहिले केपी ओलीसँग नजिक छ भन्थे भने कहिले शेरबहादुर देउवासँग नजिक भएको टिप्पणी आउने गर्दथ्यो । तर एउटा व्यवसायी भएपछि सबैसँग उनले सम्बन्ध बढाएका थिए ।
मलाई कति पटक उनले के भनेका थिए भने, ‘मेरो भाउजु (पासाङ ल्हामु शेर्पा) लाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् ।’ यसो उनले पटक–पटक भने । ‘नेपाली कांग्रेसले त्यतिबेला लिएको खुला अर्थतन्त्रको अवधारणा नभएको भए म यति ठूलो व्यवसायी बन्न सक्ने थिइनँ’ भनेर पनि उनले पटक–पटक भन्ने गर्दथे ।
उनी कहिल्यै मिडियामा आउन नचाहने मान्छे हुन् । तपाईंहरूले याद गर्नुभयो भने दुर्घटना हुनुभन्दा अगाडि पनि उनको फोटो कसैले खिचेनन् । अरूजस्तो मान्छे भइदिएको भए, उनी टक्क मन्त्रीको छेउमा बसेर फोटो खिचेर मिडियामा छाउन चाहन्थे । तर उनी त्यस्ता थिएनन् ।
उनका पनि कति शत्रु होलान्, कति मित्र होलान्, त्यो सबैको हुन्छ । तर म त के भन्छु भने आज जसरी युवाहरू देश छोडेर बाहिर गइरहेका छन्, उनले पनि त्यस्तै गर्न सक्थे ।
शेर्पाको राजनीतिक झुकाव कहीँकतै थिएन । उनले भन्ने गर्दथे, ‘म एक विशुद्ध व्यवसायी हुँ, मलाई सबै पार्टी आवश्यक पर्छ । नेपाली कांग्रेसले खुला आकाश नीति ल्यायो र मैले नेपाली आकाशमा आफ्नो जहाज उडाउन पाएँ ।’ यही कारण शेर्पालाई कांग्रेस निकट भन्ने आरोप लाग्यो ।
मैले पछिल्लो समयमा सुन्ने गरेको थिएँ, शेर्पा ओली निकट थिए भनेर । तर म के भन्न चाहन्छु भने उनी कुनै राजनीतिक पार्टी नजिक थिएनन् । ‘दाइ ! मैले यति धेरै मन्त्री कमाएँ कि मन्त्री भएको भोलिपल्ट मलाई फोन गरेर कसरी काम गर्नुपर्ला ? भनेर सोध्छन्’ भनेर भन्ने गर्दथे ।
तर यही देशमा बसेर केही गर्छु भन्ने ठूलो सपना र पर्यटनले मात्र देशको विकास हुनसक्छ भन्ने मान्यता राख्ने व्यक्ति थिए उनी । साँच्चै भन्ने हो भने एउटा महान् व्यक्ति गुमायो देशले । उनको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षति भएको छ ।