
काठमाडौं – केही ढोका खुला, केही ढोका बन्द । सबै कोठामा संस्कृतका लामा–लामा श्लोक गुञ्जिँदै । शिक्षकले पहिला उच्चारण गरेका श्लोक विद्यार्थीले उच्चारण गर्दा मनमोहक ध्वनी प्रवाह हुँदै थियो ।
सुन्दर नेपाली पोशाक दौरा सुरुवाल लगाएका विद्यार्थी जुत्ता चप्पल फुकालेर कक्षाभित्र पलेंटी कसेर लहरै मिलेर बसेका थिए ।
अन्य विद्यालयको तुलनामा गुरू र चेलाको सम्बन्ध अलिक गहिरो र सुमधुर देख्न सकिन्थ्यो । चेलाहरूले शिक्षकलाई अतिआदर गर्ने संस्कारको अभ्यास विद्यालयमा थियो ।
काठमाडौंको पशुपति क्षेत्र हिन्दूको पवित्र भूमि हो । अंग्रेजी भाषाको आँधीको बीचमा पशुपतिको काखमा नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय रहेको छ । १ सय ८२ जना विद्यार्थी, १४ जना शिक्षक, ९ जना कर्मचारी रहेको विद्यालयमा ७५ जना विद्यार्थी छात्राबासमा बसेर अध्ययन गर्छन् । छात्राबासमा बस्ने विद्यार्थीलाई आवासीय र खानाको शुल्क नलाग्ने व्यवस्था विद्यालयले गरेको छ । छात्राहरू भने विद्यालयमा पढ्न आउँदैनन् ।
पछिल्ला केही वर्षदेखि नेपाली भाषा अंग्रेजीकरण भइरहेको छ । संस्कृति भाषाको संसार साँघुरिँदै गएको छ । काठमाडौं त झन् धेरै अंग्रेजीकरण भइरहेको छ । सामान्य दिनचर्या र कामकाजमा आम प्रयोग भइरहेपनि नेपाली भाषाको प्रयोगमा अंग्रेजी मिसिँदै गइरहेको छ भने नेपाली भाषाको मूल स्रोतभाषा संस्कृत त करीब संरक्षण गर्नुपर्ने अवस्थामा पुगिसकेको छ ।
वेद विद्याश्रम विद्यालयमा मुख्यतः संस्कृत भाषाको अध्यापन गरिन्छ । ४ देखि ६ कक्षासम्म ५ सय पूर्णाङ्कको संस्कृति र ३ सय पूर्णाङ्कको अन्य विषय र ७ देखि १० कक्षासम्म संस्कृति र अन्य विषय ४–४ सय पूर्णाङ्कको पढाइ हुन्छ । ७ कक्षादेखि ८ सय पूर्णाङ्कका विषयमध्ये ४ सय पूर्णाङ्कको संस्कृत सम्बन्धी र ४ सय पूर्णाङ्कको नेपाली, गणित, सामाजिक र अंग्रेजी विषय पढाइ गरिन्छ ।

संस्कृत शिक्षामा वेद, कर्मकाण्ड, ज्योतिष र संस्कृत भाषा लगायत विषय पर्छन् । विद्यालयमा विद्यार्थीले माथिल्लो कक्षा पढ्न प्रथम श्रेणी ल्याउनुपर्ने व्यवस्था विद्यालयले गरेको छ ।
विद्यालयले कक्षा ९ देखि ज्योतिष र कक्षा ४ देखि ८ सम्म गीताको अध्यापन गराउने गरेको छ । ४–५ वर्षदेखि विद्यालयले कक्षा ११ र १२ सञ्चालनको स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा आग्रह गरिरहेको भएपनि कार्यान्वयन नभएको प्रधानाध्यापक केशव अधिकारीले बताए ।
देशैभरबाट विद्यार्थी आफ्नै रुचिले पढ्न आउने हुँदा विद्यालयलाई विद्यार्थी खोज्ने समस्या छैन । पारिवारिक, सामाजिक र संस्थागत परम्परामा संस्कृत भाषाको महत्त्व अझै घटेको छैन । विद्यालयमा पढेका विद्यार्थी नेपाली सेना, विश्वविद्यालयमा प्राध्यापन र पण्डित पेशामा जाने गरेको प्रधानाध्यापक अधिकारी बताउँछन् । हालसम्म विद्यालयमा अध्ययन गरेका विद्यार्थी सामान्यतया बेरोजगार नभएको उनको दाबी छ ।
पशुपति क्षेत्र विकास कोषको मुख्य अनुदानमा विद्यालय सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले अनुदान स्वरुप केही रकम दिने गरेको छ । विद्यालयका धेरै भौतिक संरचना पुराना भएकाले विद्यालयले मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको छ ।
शिक्षक, भौतिक पूर्वाधार र पाठ्यक्रमको व्यवस्था राज्यले गरिदिएमा संस्कृत भाषाको विकासमा टेवा पुग्ने प्रधानाध्यापक अधिकारीले बताए ।