
काठमाडौं –‘नेपाली फिल्मको बजारको अवस्था अहिले यति बिजोग छ । म त फिल्ममा लगानी गर्न खोज्नेहरूलाई हात नै जोडेर भन्छु नबुझी लगानी गर्दै नगर्नुस्,’ गत माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गोपी’का निर्माता मनिकरण केसी लोकान्तरसँग भन्छन् ।
उनी अगाडि थप्छन्, ‘तपाई अध्ययन गर्नुस्, अहिले दोहो¥याएर फिल्म बनाउने कति हुनुहुन्छ ? फिल्ममा १ करोड बढी खर्च गरेका ८० प्रतिशत निर्माताले २०–२५ लाख रुपैयाँ पनि उठाउन सकेका छैनन् ।’
‘रोज’मा लगानी डुबाएका मनिकरणलाई ‘गोपी’ले पनि डुबायो । यी २ फिल्ममा गरेको लगानीले उनलाई नेपाली फिल्मको अवस्थाबारे भने राम्रै ज्ञान दिलायो । लगानी गरेपछि उनले फिल्म क्षेत्रबारे धेरै कुराहरू बुझ्ने अवसर पाए ।
‘पहिलो त फिल्म क्षेत्रमा लगानी गर्नेहरू अधिकांश नयाँ हुँदा रहेछन् । एउटाले लगानीकर्ता खोज्ने, एउटाले निर्देशक खोज्ने, एउटा पैसा हालेर फिल्म खेल्ने परिपाटी झाँगिएको रहेछ,’ उनी आफूले बुझेको फिल्मको अवस्थाबारे भन्छन्, ‘केही राम्रो फिल्म चलेका छन् । तर नराम्रा फिल्महरू धेरै आइरहँदा दर्शकमा नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने भावना नै हटेको छ । जसका कारण ठीकठाकका फिल्म पनि चल्न छाडेका छन् ।’ नेपाली फिल्मको अवस्था देखेर उकेद लागेको उनी बताउँछन् ।
माघ १८ गतेबाटै प्रदर्शनमा आएको फिल्म ‘रणवीर’को व्यापारलाई लिएर निर्माता दीपेन्द्र रेग्मी पनि उत्तिकै चिन्तित छन् । उनी वर्तमान समयमा अरु फिल्म निर्माण गर्ने मनस्थितिमा छैनन् ।
उनी भन्छन्, ‘नेपाली फिल्म नचल्नुमा धेरै कमीकमजोरी छन् ।’ उनको भनाईमा फिल्म चल्न राम्रो कन्टेन्ट र नयाँ प्रयोगले मात्र पुग्दैन । दर्शक तान्न राम्रा गीत र स्टार कास्ट कलाकार पनि आवश्यक पर्छ ।
उनी अहिले नेपाली फिल्मको पब्लिसिटी समेत गलत तरिकाले भइरहेको बताउँछन् । पब्लिसिटी गलत हुँदा फिल्म हेर्न गएका दर्शकहरू निराश भएर निस्कन्छन् र त्यसपछिका फिल्म हेर्न दर्शकको मन मर्छ ।
मनिकरण र दीपेन्द्रमा जस्तै पीडा सुशान प्रजापतिमा पनि छ । उनको निर्माण रहेको फिल्म ‘सुश्री सम्पत्ति’ले पनि नराम्रोसँग घाटा व्यहो¥यो । मंसिर २८ गतेबाट प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शक गएनन् ।
कुनै समयको ‘हामी तीन भाइ’ जस्तो सुपरहिट फिल्म निर्माण गरेका सुशान अहिलेकै परिस्थितिमा अन्य फिल्म निर्माण नगर्ने बताउँछन् । ‘अहिले कुनै पनि नेपाली फिल्ममा दर्शक नै छैनन् । फिल्मको अवस्था नसुध्रेसम्म अर्को फिल्म नबनाउने मनस्थितिमा पुगेको छु,’ उनी भन्छन् ।
अभिनयमा लामो समय बिताएका कलाकार पुकार भट्टराईले फिल्म ‘गुनगुन’ निर्माण तथा निर्देशक गरे । अभिनय फापेको पुकारलाई निर्माण र निर्देशन फापेन । उनी नेपाली फिल्म क्षेत्रसँग असन्तोष पोख्दै फिल्म बनाउनुभन्दा चलाउनु गाह्रो भएको अनुभव साट्छन् ।
भन्छन्, ‘फिल्म बनाउनुभन्दा चलाउनु धेरै गाह्रो रहेछ । फिल्म चलाउन हल, वितरकसँगको सिस्टम र नियम धेरै फितलो रहेछ । निर्माता भइसकेपछि बुझे यहाँ निर्माताहरू एक पटक होइन, पटक–पटक मर्दा रहेछन् ।’ उनले फिल्म क्षेत्र नेपालको सबैभन्दा फितलो क्षेत्र देख्छन् । ‘फिल्म प्रदर्शनदेखि व्यापार लगायत केही कुरामा सिस्टम नै छैन,’ उनी भन्छन् ।
हलमा दर्शक नजानु एउटा पाटो भएपनि फिल्म लगाउन गाह्रो हुनु, फिल्मको व्यापार सिधा निर्मातासमक्ष नआउनु, आम्दानी आउँदा विभिन्न शीर्षकमा काटिएर निर्मातासमक्ष २५ प्रतिशत पनि नआउनुजस्ता समस्या रहेको सुनाउँछन् । त्यसैले फिल्म क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने उनी बताउँछन् ।
फिल्ममा आफ्नो लगानी डुबेपछि उनी आफूसँग फिल्म बनाउनेबारे सल्लाह लिन आउनेलाई सिधै भन्छन्, ‘अहिले फिल्मको व्यापारको अवस्था बिजोग छ । फिल्ममा लगानी नगर्नुहोस् ।’ उनी प्रश्न गर्छन्, ‘लगानी उठ्दैन भन्ने जानीजानी अरुलाई किन डुबाउने ?’
निर्माता सुरक्षित भएमात्र अरु बाच्ने र फिल्म उद्योग जीवित रहने बताउँदै त्यसका लागि सरकारी तवरबाट पनि कदम चालिनुपर्ने उनको भनाई छ ।
‘पब्लिसिटी’ खर्च समेत नउठ्ने यो कस्तो व्यापार ?
अहिले फिल्मको निर्माण खर्च बढेको छ । सँगै पब्लिसिटी खर्च पनि उत्तिकै महंगो छ । सामान्य पब्लिसिटीमा २० लाख रुपैयाँदेखि अलि राम्रै पब्लिसिटी गर्न ५० लाख रुपैयाँसम्म खर्च हुने निर्माता बताउँछन् ।
तर फिल्मको व्यापार यति बिजोग छ कि पब्लिसिटीमा खर्चेको पैसा समेत उठ्दैन । जुन कुरा स्वीकार्छन् ‘सुश्री सम्पत्ति’का निर्माता सुशान प्रजापति । आफ्नो फिल्मको पब्लिसिटीमा ५० लाख रुपैयाँ सरोफेरो खर्च भएको बताउँदै फिल्मबाट त्यति पैसा उठ्न गाह्रो रहेको उनी बताउँछन् । ‘पब्लिसिटी खर्च अत्यन्तै बढेको हो,’ उनी भन्छन्, ‘फिल्म बनाउन जति नै खर्च पब्लिसिटीमा लाग्न थालेको छ ।’
टेलिभिजन, अनलाइन, रेडियो लगायतमा विज्ञापन, पत्रकार सम्मेलन, मोफसल यात्रा, पोस्टर, व्यानर लगायतमा रकम खर्च भएको उनले बताए । ‘रणवीर’को प्रचारप्रचारमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको दीपेन्द्र रेग्मी बताउँछन् । ‘फिल्मको व्यापार सोचेभन्दा उल्टो भयो । तर पब्लिसिटी खर्च उठ्यो उठेन त्यसमा जोड नदिऔं,’ उनले भने ।
फिल्मको आम्दानी बताउन उनको हिच्किचाहट देख्दा ‘रणवीर’ले पनि पब्लिसिटी खर्च समेत उठाउन नसकेको देखिन्छ । ‘गोपी’को प्रचारप्रसारमा २० देखि २५ लाख रुपैयाँ खर्च भएको मनिकरण बताउँछन् । यी पछिल्ला केही फिल्मका उदाहरण भएपछि धेरै फिल्मको तीतो यथार्थता नै यही हो । धेरै फिल्मको लगानी बालुवामा पानी खन्याएसरह छ ।
नेपालमा हरेक हप्ता २ देखि ३ फिल्म प्रदर्शनमा आउँछन् । महिनामा ८ देखि १२ फिल्म । यसरी हेर्दा महिनामै नेपाली फिल्ममा ८ देखि १२ करोड रुपैयाँ डुबिरहेको छ । दशैंको छेकोमा प्रदर्शनमा आएका ‘छक्का पञ्जा ३’ र ‘जय भोले’पछि खडेरी लागेको बजारमा शुक्रवारबाट प्रदर्शनमा आएका २ फिल्म ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ले राहत दिने फिल्मकर्मीको अपेक्षा छ । तर एकाधलाई छाडेर हेर्ने हो भने ‘पब्लिसिटी’ खर्च समेत नउठने गरी नेपाली फिल्मले यो कस्तो व्यापार गरिरहेका हुन् ? सबै फिल्मकर्मी यसमा गम्भीर देखिनु जरुरी छ ।