२६ असार २०८३, शुक्रबार

तयार हुँदै थियो प्रगति विवरण, यी काम गरेँ भन्न नपाउँदै गए रविन्द्र

फागुन २०, २०७५
तयार हुँदै थियो प्रगति विवरण, यी काम गरेँ भन्न नपाउँदै गए रविन्द्र

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दै थियो । २०७४ चैत २ मा कार्यकाल सम्हालेका रविन्द्र आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिहरूको फेहरिस्त सार्वजनिक गर्ने तयारीमा थिए ।

चैत २ मा सार्वजनिक गर्ने तयारीसहित प्रगति विवरण लगभग तयार भएको थियो । मन्त्रालयका अधिकारीहरूले प्रगति विवरणलाई सम्पादन गरिरहेका थिए । त्यसलाई केही दिनभित्रै अन्तिम रूप दिइँदै थियो । तर दुर्भाग्य! त्यसको १७ दिन अगाडि फागुन १५ का दिन उनको दुःखद् निधन भयो ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा पर्‍यो । दुर्घटनामा मन्त्री अधिकारीसहित ७  जनाले ज्यान गुमाए ।
आफूले गरेका राम्रा कामहरूको सूचीमा हस्ताक्षर समेत गर्न नपाउँदै रविन्द्रले हामीलाई छाडेर गएका छन् ।

यस्तो छ प्रगति विवरण

मन्त्री रविन्द्र अधिकारीको कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त तीनवटा विमानस्थलमा रात्रिकालीन उडान सेवा शुरू गरिएको छ । सो विषय मन्त्रालयको प्रगति विवरणमा समावेश गरिएको छ । मन्त्रालयका अनुसार झापाको भद्रपुर र कैलालीको धनगढी विमानस्थलमा रात्रिकालीन उडान शुरू गरिएको हो । यस्तै जनकपुर विमानस्थलमा पनि रात्रिकालीन उडान शुरू गर्ने तयारी मन्त्रालयले गरेको थियो ।

गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ६७ प्रतिशत सम्पन्न भएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २७ प्रतिशत भएको छ ।

त्यसैगरी १ सय १४ वटा सम्पदा पुनर्निर्माण भएका र पर्यटक आगमन समेत १२ लाख पुगेको मन्त्रालयको एक वर्षको प्रगति विवरणमा उल्लेख गरिएको छ । मन्त्री रविन्द्र अधिकारीकै कार्यकालमा थप १० वटा विमानस्थल सञ्चालनमा आएका मन्त्रालयका प्रगति विवरणमा उल्लेख गरिएको छ । ‘विभिन्न कारणले विगत लामो समयदेखि सञ्चालनमा आउन नसकेका थप १० वटा विमानस्थल सञ्चालनमा आएका छन्,’ मन्त्रालयको प्रगति विवरणमा भनिएको छ ।

त्यस्तै सयवटा नयाँ गन्तव्य घोषणा समेत मन्त्री अधिकारीले कार्यकाल सम्हालेपछि नै भएको मन्त्रालयको जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोनतिको काम ४० प्रतिशत सम्पन्न भएको छ । त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलको रनवे र धवनमार्गमा पानी जम्मा हुने समस्या रहेको थियो । त्यसको स्तरोनतिको काम समेत सम्पन्न हुने आवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पार्किङवे विस्तारको काम समेत मन्त्रीको कार्यकालमै अघि बढेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

दुई कार्यविधि मन्त्रिपरिषद्‍मा

मन्त्री अधिकारीले तयार पारेको प्रगति विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने तयारी भएको उल्लेख छ । त्यसका लागि आवश्यक कार्यविधि समेत बनेको र सो कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पेश गरिएको छ । आगामी १ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्ने  कार्यक्रम छ ।

मन्त्रिपरिषद्‍मा पेश गरिएको कार्यविधि त्यहाँबाट स्वीकृत भएपछि विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरणका लागि ढोका खुल्ने र आगामी १ वैशाखमा बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ‘भ्रमण वर्ष २०२०’को कार्यविधि समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पेश गरिएको छ ।

सो कार्यविधि समेत स्वीकृतिको चरणमा रहेको मन्त्रालयले जानकारी दिएको छ । सो कार्यविधि स्वीकृत भएपछि भिजिट नेपालको अभियान शुरू हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

‘दैवले हस्ताक्षर गर्न दिएन’

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले एक वर्षको प्रगति विवरण तयार पारेको बताए । सापकोटाले केही दिनमै प्रगति विवरण सार्वजनिक गर्ने तयारी भइरहेका बेला घटना हुन पुगेको र अब चैत पहिलो सातासम्म प्रगति विवरण सार्वजनिक गरिने बताए ।

‘मन्त्रालयले एक वर्षको प्रगति विवरण तयार गर्ने क्रममा रहेको थियो,’ उनले  लोकान्तरसँग भने, ‘त्यसका लागि विवरण तयार भएपनि त्यसमा मन्त्रीज्यूको हस्ताक्षर गर्न बाँकी थियो । दैवले हस्ताक्षर समेत गर्न दिएन ।’
 

salt training

कमेन्ट गर्नुहोस्