पोखरा- पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ कास्कीको मादी गाउँपालिका छापचोकको जंगलमा दुर्घटनामा परेको छ ।
सराङकोटबाट फेवाताल किनारामा ल्याण्ड गर्ने गरी उडान गरेको प्याराग्लाइडिङ हावाको बेगसँगै विपरीत तर्फको मादी गाउँपालिकाको जंगलमा पुगेर रुखमा अल्झिएकोछ। स्थानीयले दिएको जानकारी अनुसार रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिएका छन् ।
पोखराको सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रुपमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार रुख निकै अग्लो छ अर्को रुखबाट उनको उद्धारको प्रयास भइरहेको छ । उनले भने, 'अर्को रुखबाट डोरी लगाएर पाइलटलाई अर्को रुख सम्म ल्याइयो तर प्याराग्लाइडिङ अल्झिएको रुखका कारण तल झार्न कठिन भएको छ,’ उनले भने । उनी अन्य साथीहरूसँग प्याराग्लाइडिङमा उड्दै त्यहाँ पुगेका थिए । तर अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रुखमा अल्झेका हुन् ।
दुर्घटनामा परेका रसियन प्याराग्लाइडिङ गर्न करीब २ सय रसियनसहित पोखरा आएका थिए ।
त्यसैगरी सराङकोटबाट उडेको अर्को प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा पोखरा- १६ इञ्जिनीयरिङ क्याम्पस पछाडि सेती बगरमा खसेको छ । प्याराग्लाइडिङ सेती बगरमा खसेपछि स्थानीय र प्रहरीले उद्धार गरेका छन् ।
प्याराग्लाइडिङ दुर्घटनामा परेकी युवती काजिकिस्तानकी लिना हुन् ।