०४ साउन २०८३, सोमबार

सरकार, उद्योगीदेखि निगमका हाकिमसम्म कम्युनिस्ट सर्कल, बजारमा ग्यासको अभाव !

फागुन २०, २०७५
सरकार, उद्योगीदेखि निगमका हाकिमसम्म कम्युनिस्ट सर्कल, बजारमा ग्यासको अभाव !

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष हुन्, गोकुल भण्डारी । नेपाल ग्यास उद्योगका सञ्चालक समेत रहेका भण्डारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् ।

ग्यास एवं पेट्रालियम पदार्थको नियमन तथा आपूर्ति गर्दै आएको नेपाल आयल निगमका कार्यकारी निर्देशक हुन्, सुरेन्द्र पौडेल । 

आयल निगमको कार्यकारी प्रमुखमा नियुक्त भएपछि सार्वजनिक कार्यक्रममै उनले आफू कम्युनिस्टको कार्यकर्ता भएकाले समेत निगमको प्रमुख हुन सफल भएको बताएका थिए ।

नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र मन्त्री मातृकाप्रसाद यादवको कार्यकर्ता भएका कारण आफू निगम प्रमुखमा नियुक्त हुन सफल भएको भन्दै ओली, प्रचण्ड र मातृकाप्रसाद यादवको प्रसंशा गरे ।

निगम, ग्यास उद्योग र पेट्रोलियम पदार्थको नियमन गर्ने उच्च निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । सो मन्त्रालयको जिम्मेवारी मातृकाप्रसाद यादवले पाएका छन् । तत्कालीन माओवादी एवं कम्युनिष्ट नेता मातृकाप्रसाद यादव व्यवहारमा कडा मानिन्छन् ।

यसअघि वनमन्त्री भएका बेला ललितपुरका एलडीओलाई ट्वाइलेटमा थुनेका कारण सर्वसाधारणमाझ चर्चित बनेका यादवमाथि सर्वसाधारणको यसपालिको आपेक्षा बजारमा ग्यासको अभाव सिर्जना हुन नदिउन्, भन्ने हो ।

तर, एलपी ग्यास उद्योग संघका अध्यक्ष र निगमका कार्यकारी प्रमुख सहितको साँठगाँठलाई निस्तेज पार्नमा मन्त्री यावदको खासै भूमिका नदेखिएको सर्वसाधारणको गुनासो रहेको छ ।

सरकारले उद्योगीलाई उचालेर उपभोक्तालाई चेपुवामा पार्न खोजेको उपभोक्ता अधिकारकर्मीहरूको बुझाइ छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिल्नाले सरकार र ग्यास उद्योगी मिलेर उपभोक्तालाई चेपुवामा पार्न खाजेको बताए । ‘तँ रोए जस्तो गर्, म कुटे जस्तो गर्छु, गरेर सरकारले उद्योगीले उपभोक्तामा चेपुवामा पारिएको छ,’ तिमिल्सिनाले भने, ‘उद्योगीका माग जायज हुन् भने सरकारले पूरा गर्नुपर्छ । जायज छैनन् भने सरकारले उद्योगीलाई कारवाही गर्नैपर्छ ।’

उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठाउँदा बजारमा ग्यासको अभाव सिर्जना हुन थालेको तिमिल्सिनाको भनाइ थियो ।

नेपाल ग्यास उद्योग संघले ग्यासको कारोबारमार्फत् आउने कमिसन वृद्धि सहितका माग राख्दै पीडीओ नउठाने घोषणा गरेका हुन् । कमिसन वृद्धि लगायतका विभिन्न १० बुँदे माग राख्दै उद्योगीले ग्यास आयात गर्न छाडेका छन् । जसका कारण नेपाली बजारमा ग्यासको अभाव हुन थालेको छ ।

अनुमगन भइरहेको छ : मातृका यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ग्यासको अभाव सिर्जना भएका समाचार आएपछि ग्यास उद्योग र ग्यास विक्रेताहरूको पसलमा अनुगमन भइरहेको बताएका छन् । 

मन्त्री यादवलाई उद्धृत गर्दै उनका स्वकीय सचिव सन्तोष विष्टले लोकान्तरसँग भने, ‘उद्योगीको समस्या सामाधानका लागि आयल निगमले प्रक्रिया अघि बढाएको छ । बजारमा ग्यासको अभाव भइरहेको भन्ने बारेमा अनुमगनका लागि वाणिज्य विभागलाई निर्देशन दिइएको छ । अनुगमन गरिरहेको होला ।’

पढ्नुहोस्, यो पनि :
निगमले भन्यो- ग्यास आयात भइरहेको छ, हल्लाको पछाडि नलाग्नु

कमेन्ट गर्नुहोस्