०७ असार २०८३, आइतबार

कास्कीको याङ्जाकोटमा बर्ड फ्लू भेटियो

चैत ४, २०७५
कास्कीको याङ्जाकोटमा बर्ड फ्लू भेटियो

पोखरा- कास्कीको मादी गाउँपालिकामा बर्ड फ्लू संक्रमण भेटिएको छ । मादी गाउँपालिका-३ याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्ड फ्लू संक्रमण भेटिएको हो ।

मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेको कुखुरामा बर्ड फ्लू जीवाणु भेटिएको पशुपंक्षी रोग अन्वेषण कन्ट्रोल रुमका प्रवक्ता डा. कृष्ण न्यौपानेले जानकारी दिए ।

परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्ड फ्लू भेटिएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए । 

याङ्जाकोटका स्थानीयले पालेका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरी शंकास्पद नमूना परीक्षण गर्दा बर्ड फ्लू जीवाणु (भाइरस) एच ५ एन वानको संक्रमण देखिएको हो । 

संकलन गरी नमूना परीक्षण गर्दा जीवाणु भेटिएपछि पुन: केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाउँदा समेत बर्ड फ्लू भाइरस देखिएपछि नियन्त्रणका लागि टोली परिचालन गरिएको न्यौपानेले जानकारी दिए ।

बर्ड फ्लू लागेको क्षेत्रमा चारकिल्ला लगाएर संक्रमित कुखुरा नष्ट गरिएको छ। सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्नसमेत रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्की बर्ड फ्लू रोग नियन्त्रक कक्षका सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार आइतवार मन्त्रिस्तरीय निर्णयअनुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि सोमवार बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकपछि संक्रमण कन्ट्रोल इञ्चार्ज डा. केदार राज पाण्डेसहितको टोली रोग नियन्त्रणका लागि खटिएका छन् । 

पोखराभन्दा पहिले मकवानपुर र काठमाडौंमा पनि बर्ड फ्लूको संक्रमण देखिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्