२२ असार २०८३, सोमबार

पूँजीलाई एकिकृत गर्दै सहकारीको माध्यमबाट आर्थिक समृद्धि - मन्त्री थापा

चैत २०, २०७५
पूँजीलाई एकिकृत गर्दै सहकारीको माध्यमबाट आर्थिक समृद्धि - मन्त्री थापा

पोखरा - गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले देशको विकास र समृद्धि सहकारीबाटै हुने दावी गरेका छन् । ६२औं सहकारी दिवसको अवसरमा बुधवार पोखरामा आयोजित कार्यक्रममा मन्त्री थापाले सहकार्य र एकताको माध्यमबाट छरिएर रहेको पूँजीलाई एकिकृत गरी समाजको रुपान्तरण गर्नुपर्ने  बताएका हुन् ।

मन्त्री थापाले सहकारीलाई सहकार्यताको मध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिँदै नागरिकहरुलाई आवश्यक पर्ने पूँजी स्थानीय स्तरमै व्यवस्था गरी उद्यमशीलता अभिप्रेरित गर्न आग्रह गरे ।

उनले अबको तीन वर्षभित्र गण्डकी प्रदेशमा सञ्चालन भएका सहकारीले २० अर्ब बराबरको पूँजी उत्पादन क्षेत्रमा लगाउन आग्रह गरे । ‘सहकारीसँग रहेको ठूलो पूँजी अब यस क्षेत्रमा लगानी गर्नु पर्छ,’ उनले भने, ‘यस क्षेत्रमा ठूलो पूँजी संकलन भएकाले उत्पादकत्वका क्षेत्रमा लगानी हुनु पर्छ । हामीसंग पूँजीको अभाव छैन ।’

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारीलाई तीनवटै तहका सरकारले प्राथामिकतामा राखेको बताइन् । उनले सहकारीहरुले सहकार्यताको मर्म र भावना अनुसार सहकारी सञ्चालन गर्न सके समाजमा आर्थिक विकास र समृद्धि हासिल हुने बताइन् । ‘हामीहरुले सहकारीको मर्म र भावना अनुसार लक्षित वर्गको हितमा कार्य गर्न सक्यौं भने समाज आर्थिक रूपमा समृद्ध बन्छ,’ उनले भनिन्, ‘त्यसका लागि हामीले उद्देश्य अनुरुप लगानी गर्दै जानुपर्छ ।’

६२ औं सहकारी दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा दजनौं सहकारीकर्मी जम्मा भएर र्याली सहित दिवस मनाएका छन् । उनीहरू हात-हातमा प्लेकार्ड बोकेर आफ्नो सहकारीको ब्यानर र ड्रेससहित सजिएर र्यालीमा सहभागी भएका थिए । उनीहरु पोखराको न्युरोडमा जम्मा भएर प्रभातफेरी कार्यक्रमको आयोजना गरी सभागृह चोक पृथ्वीचोक, नयाँबजार हुदै पोखराको प्रदर्शनी केन्द्रमा पुगेर  विशेष कार्यक्रममा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्