११ असार २०८३, बिहीबार

पत्रकार अर्जुन गिरी पक्राउ

बैशाख २, २०७६
पत्रकार अर्जुन गिरी पक्राउ

पोखरा- पत्रकार अर्जुन गिरी पोखराबाट पक्राउ परेका छन् ।

ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साइबर क्राइमको उजुरीका आधारमा कास्की प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाएको छ ।

गिरी सम्पादक रहेको ताण्डब न्यूजले केहीदिनअघि व्यवसायी विपेन्द्रराज बतास 'विपिन वतास'ले ठगी गरेको समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए । 

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा बतासले दिएको जाहेरीका आधारमा मुद्धादर्ता भएर अदालती प्रक्रियाबाट पक्राउ पूर्जी जारी भएपछि ब्यूरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी रविन्द्र गुरुङले बताए । ‘केन्द्रीय ब्यूरो काठमाडौंले पक्राउ गरी दाखिता गर्नु हुन भनी पत्र लेखेको आधारमा पक्राउ गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘पक्राउ परेका पत्रकार गिरीलाई सोमवार नै काठमाडौं पठाइसकिएको छ ।’

विपेन्द्रराजले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौं रुपैयाँ ठगी गरेको बेलिबिस्तारसहितको समाचार गिरी सम्पादक रहेको ताण्डव न्यूज साप्ताहिक र अनलाइनमा प्रकाशन भएको थियो । 

पक्राउ परेपछि गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

उनले भनेका छन्, ‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधैं गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साइबर क्राइमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल उनको रिहाइको माग गरेको छ ।

त्यस्तै गिरीको पक्राउप्रति अन्य पत्रकार सम्बद्ध संघसंस्था र समूहले पनि आपत्ति जनाएका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्