०८ साउन २०८३, शुक्रबार
सरकारी लापरवाही

पत्याउनुहुन्छ ? सरकारी संस्थानमा ‘प्रतिकिलोमिटर ६–८ लिटर’ इन्धन सुविधा !

बैशाख ४, २०७६
पत्याउनुहुन्छ ? सरकारी संस्थानमा ‘प्रतिकिलोमिटर ६–८ लिटर’ इन्धन सुविधा !

काठमाडौं – सरकारी सवारीसाधन प्रयोगको अवस्थाबारे जान्न हामीले मन्त्रालय, विभाग, संस्थान र आयोग लगायतसँग सूचना मागेका थियौं ।

यसैक्रममा नेपाल खाद्य संस्थानले उपलब्ध गराएको सूचनाले हामीलाई झस्कायो । 

संस्थानले महालेखा परीक्षकको कार्यालयलाई समेत पठाएको विवरण हामीलाई उपलब्ध गराएको थियो ।

संस्थानसँग ८ वटा ४ पांग्रे सवारीसाधन रहेको र तिनका प्रयोगकर्ताको विवरण हामीलाई उपलब्ध गराइएको सूचनामा उल्लेख छ । इन्धन सुविधाबारे त्यसमा भनिएको छ– ६, ७, ८ लिटर प्रतिकिलोमिटर । 

यसको अर्थ १ किलोमिटर गुडेबापत कम्तिमा ६ लिटर इन्धन सुविधा उपलब्ध हुने भन्ने हुन्छ । त्यसो हुँदा कुनै गाडी दिनमा २० किलोमिटर गुड्यो भने उसले उक्त दिन १ सय २० लिटर इन्धन पाउने भयो ।

यो विषय अचम्म लाग्दो त थियो नै, यदि यस्तो हो भने ठूलो समाचार पनि । न्यूज रूममा केहीबेर सल्लाह भयो ।

संस्थानको छाप र ३ जनाले हस्ताक्षर गरेर उपलब्ध गराएको विवरणलाई सही मानेर समाचार छाप्ने विकल्प त हामीसँग थियो नै । तर पनि हामीले एक पटक फेरि संस्थानमा सम्पर्क राख्यौं ।

सूचना उपलब्ध गराएका वरिष्ठ अधिकृत केदार नेपाललाई सम्पर्क गर्दा थाहा भयो गाडीको हर्स पावर अनुसार ६ देखि ८ किलोमिटर गुडेबापत १ लिटर इन्धन उपलब्ध गराउने गरिएको रहेछ ।

उनले बताएको कुरा र हामीसँग रहेको सूचनामा उल्लेख भएको विवरण ठ्याक्कै विपरीत थिए । हामीले सूचनामा प्रतिकिलोमिटर ६ देखि ८ लिटर इन्धन उपलब्ध गराउने गरिएको कुरा विवरणमा उल्लेख रहेको बतायौं । 

त्यसपछि झस्किएका अधिकृत नेपालले भाषागत त्रुटि भएको बताए । ‘त्यस्तो छ र सर ? त्यसो हो भने टाइपिङमा मिस्टेक भयो । हामीले महालेखा परीक्षकको कार्यालयमा पनि त्यही विवरण पठाएका छौं,’ उनले भने ।

महालेखा परीक्षकको कार्यालयमा तत्काल सुधारिएको विवरण पठाउने भन्दै उनले आवश्यक भए अर्को विवरण लिन आउन हामीलाई पनि आग्रह गरे । त्यसको केही दिनपछि मंगलवार सम्पर्क गर्दा नेपालले महालेखामा सुधारिएको विवरण पठाइसकेको बताए ।

सवारीसाधन, प्रयोगकर्ता र इन्धन सुविधाको त्रुटिपूर्ण विवरण हेर्नुहोस् –

salt training

कमेन्ट गर्नुहोस्