०५ साउन २०८३, मंगलबार
खेलकुद

सीएमए पढेपछि खेल्दाखेल्दै सेनामा जागिर, विश्व च्याम्पियन बन्ने लक्ष्य

बैशाख १४, २०७६
सीएमए पढेपछि खेल्दाखेल्दै सेनामा जागिर, विश्व च्याम्पियन बन्ने लक्ष्य

काठमाडौं – गुणराज रुचाल (२६) नेपाली सेनाका जवान हुन् । तर उनी खेलाडीका रुपमा परिचित छन् ।

उनी मुवाथाईका राष्ट्रिय खेलाडी हुन्, बक्सिङ, तेक्वान्दो, कराँतेमा पनि उत्तिकै अभ्यस्त छन् । आइकिडो र कराँतेमा ‘ब्ल्याक वेल्ट’ हुन् । रेस्लिङको रेफ्रीको रूपमा पनि सक्रिय छन् उनी । 

मार्सल आर्ट खेलमा आफूलाई फिजाएका गुणराज भन्छन्, ‘मानिसमा ईच्छाशक्ति हुनुपर्छ । हरेश नखाइकन निरन्तर मेहनत गर्ने हो भने एकदिन अवश्य सफल भइन्छ ।’

गुणराजको सपना छ, विश्व च्याम्पियन बनेर देशको नाम अझ उँचो बनाउने ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका देवीटारमा जन्मिएका गुणराजमा एसएलसीपश्चात् डाक्टर बन्ने सोच पलाएको थियो । डाक्टर बनेर स्वास्थ्य सेवामा लाग्ने सोचले उनले जिल्लामै सीएमए अध्ययन गरे । 

सीएमए पास गरेर गाउँमै स्वास्थ्य संस्थामा केही महिना काम पनि गरे । अनि सीएमए भएर सरकारी जागिर खाने उद्देश्यका साथ लोकसेवा आयोगको तयारीमा लागे । तर अचानक उनको मन मोडियो । डाक्टर बन्ने सोच हराउँदै कराँते खेलाडी बन्ने सोच पलायो ।

गुणराज सम्झन्छन्, ‘एक दिन रेडियोको विज्ञापनमा छिमेकी गाउँमा कराँते तालिम हुन लागेको सुनेपछि सोच खेलाडी बन्नेतर्फ मोडियो ।’ लोकसेवा आयोगको तयारीलाई बीचमै छाडेर कराँते तालिम लिन छिमेकी गाउँ पुग्न थाले ।

‘कराँते सिक्न जान २ घण्टा लाग्थ्यो,’ स्मरण गर्दै थप्छन्, ‘पढाइ छोडेर खेलतर्फ लाग्दा गाउँमा मलाई सबैले खिसी गर्थे । तर म विचलिन नभइ कराँतेमा राम्रो गर्दै गएँ ।’ कराँतेमा आफ्नो राम्रो प्रस्तुतीले छोटो समयमै प्रशिक्षकको मन जित्न सफल भएको उनी बताउँछन् । 

त्यसपछि २०६९ सालमा उनी नेपाली सेनामा भर्ना भए । राम्रो खेलाडी बन्ने सोच उनको पहिलो प्राथमिकतामा थियो भने स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच मरेको थिएन ।

उनले खेललाई निरन्तरता दिँदै गए । २०७० सालमा ‘आईकिडो’ खेलको तालिम शुरू गरेर २०७१ सालमा धन गुरुङबाट ‘ब्ल्याक वेल्ट’ पाएको उनी बताउँछन् ।

त्यसपश्चात् उनको प्राथमिकताको खेलमा प¥यो मुवाथाई । उनले नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेश कक्षपतिसँग मुवाथाई तालिम शुरू गरे । उनले ३ वर्षअघि खेलमा एउटा सुनौलो अवसर पाए । त्यो थियो – थाईल्यान्डमा वर्ल्ड च्याम्पियनशिपमा भाग लिने अवसर । उनले थाइल्याण्डमा आफ्नो खेल कौशल देखाउने मौका पाए । 

राष्ट्रिय मुवाथाई संघबाट ‘मुवाथाई वेस्ट प्लेयर अफ द इयर २०१६’को अवार्ड प्राप्त गरे । सोही वर्ष उनले खेलका दायरालाई फराकिलो बनाउँदै रेस्लिङ खेल तालिममा पनि सहभागी भए ।

‘नेपालको पहिलो रेस्लर हिमालयन टाइगरसँग रेस्लिङको रेफ्री तालिम सिकेर रेस्लिङ खेलमा पनि सहभागी भए,’ उनी भन्छन्, ‘यता कराँते खेललाई पनि जारी राखे ।’

खेलमा गुणराजले एकपछि अर्को सफलता प्राप्त गर्दै गए । २ वर्षअघि कराँतेको ‘ब्ल्याक वेल्ट’ पास गरे । उनको अर्को सफलता थियो – गत वर्ष चितवनमा आयोजित भारत र नेपाल बीचको खेलमा भारतीय खेलाडीलाई हराउँदै गोल्ड मेडल जित्नु ।

‘चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत मेडल ग्रहण गर्दै सम्मानित भए । सोही वर्ष नै नेपाली सेनाका प्रधानसेनापतिबाट पनि प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भए,’ उनी खेलमा पाएको सफलता सुनाउँछन् । 

गत वर्ष नै नेपालमा आयोजित ‘प्रथम केब्याग इन्टरनेसनल मुवाथाई च्याम्पियनशिप २०१८’मा भारतीय खेलाडीलाई हराएर गोल्ड मेडल जितेको उनी बताउँछन् । गत वर्ष नै उनी नेपाल राष्ट्रिय मुवाथाई संघबाट दोस्रो पटक मुवाथाई वर्ष खेलाडीबाट सम्मानित भए । उनी बक्सिङ खेलाडी पनि हुन् ।

उनमा अर्को कला पनि छ ‘फायर स्टिक शो’ । जुन रातिको समयमा मनोरञ्जनका लागि लठ्ठीमा आगो बालेर नाच्ने कला हो । उनी भन्छन्, ‘यो मैले यू–टयुबबाट सिकेको हुँ । यो धेरै जोखिम कला हो ।’

गुणराज सबै मार्सल आर्ट खेललाई उत्तिकै सम्मान गर्छन् । उनी भन्छन्, ‘सबै मार्सल आर्ट खेलमा डिग्री हासिल गर्ने सोच छ । त्यस्तै विश्व च्याम्पियन बन्ने लक्ष्य लिएर अगाडि बढिरहेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्