
काठमाडौं - नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन भयो । निर्वाचनस्थल महेन्द्र पुलिस क्लबको माहोल हेर्दा लाग्थ्यो- के यो कलाकारहरूकै निर्वाचन हो त ?
पुराना कलाकार उत्तम केसीलाई त्यस्तै लाग्यो रे ! उनि भन्दै थिए, –‘खोइ चिनिएका कलाकार ? तपाईं आफै ५० जना चिनिएका कलाकार पनि देख्नुभएन होला ?’
उनी कलाकार संघमा गैह्र कलाकारलाई सदस्यता बाडिएको दाबी गर्छन् । निर्वाचनमा आउँदा अराजक माहोल देखेर आफूले मतदान समेत नगरेको उनले बताए ।
निर्वाचनमा उठेका केही उम्मेदवारलाई समेत आफू स्वयंले पनि नचिनेको बताउँदै उनले भने, 'त्यस्ता उम्मेदवारले जितेर केही गर्नुहुन्छ भन्ने नै लाग्दैन । त्यसैले मतदान गरिनँ ।’
कलाकार उमेश खड्का संघमा नयाँ–पुराना कलाकारहरूलाई आवद्ध गराउनुपर्ने बताउँछन् ।
उनले भने, 'कलाकारहरूको उत्सवको दिनमा चिनिएका कलाकारहरू नआउँदा साह्रै दुःख लागेको छ । म यो कुरा पछि संघमा उठाउनेछु ।’
केही दिनअघि फर्काैं, अभिनेत्री सरिता लामिछाने सामाजिक सञ्जालमा खुबै छाइन् । चलेका अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत् उनको पक्षमा मत मागे ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, झरना थापा, नीता ढुंगाना लगायत थिए, जसले लामिछानेका लागि भोट मागे । तर उनीहरू नै मतदानमा उपस्थित भएनन् ।
मतदानस्थलमा चलेका अभिनेताहरूको पनि अनुहार देखिएन् ।
अहिलेका ‘स्टार’ मानिने अभिनेताहरू अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलोन बस्नेत, पुष्प खड्का लगायत मतदानमा देखिएनन् ।
नयाँ/पुराना चिनिएका कलाकारहरू उपस्थित नहुँदा माथि उल्लेखित कलाकारहरूको अनुपस्थितबारे सञ्चारकर्मीहरूले समेत चासो दिएका थिए ।
कोहीले सदस्यता नलिएका होलान्, कोही सुटिङमा व्यस्त होलान् । तर, सोच्दा कलाकार संघप्रति कलाकारहरूको आस्था राम्रो बन्न नसकिरहेको बुझिन्छ ।
कलाकार संघको पहिलो आवश्यकता नै नयाँ–पुराना कलाकारलाई मिलाएर अगाडि बढ्नु हो ।
निर्देशक तथा कलाकार शोभित बस्नेत भन्छन्, ‘यहाँ चुनाव भइरहेको छ । बाहिर पार्टीपार्टीका मानिसहरू बसिरहेका छन् । नयाँ कलाकारहरूमा मात्र होइन, पुराना कलाकारहरूमा पनि संघप्रतिको आस्था न्यून देखिन्छ ।’
आशा गरौं, रविन्द्र खड्का नेतृत्वको कार्यसमितिले नयाँ पुराना कलाकारहरुलाई मिलाएर संघप्रतिको आस्था बढाउला ।