
काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवार (आज) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कूल विभाग नेतृत्वको विवादमा सहमति जुट्न नसकेपछि सचिवालय बैठक स्थगित गरिएको हो । बैठक सोमवार दिउँसो ३ बजे बस्ने गरी स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बालुवाटारमा भएको पटक-पटकको अनौपचारिक छलफलले पनि स्कूल विभागको नेतृत्व विवाद हल गर्न सकेको छैन । सहमतिकै लागि भनेर शनिवार अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली बालुवाटारमा ३ घण्टाभन्दा बढी छलफलमा जुटेका थिए ।
अध्यक्षद्वयकै परामर्शमा महासचिव विष्णु पौडेलले आइतवारको सचिवालय बैठक डाकेका थिए । तर आइतवार पनि बैठक स्थगित भएको छ ।
सरेको सर्यै सचिवालय बैठक
गत साउन ५ गते आइतवार बसेको बैठकले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको थियो । विभागहरूको नेतृत्व पनि सोही बैठकले टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर बैठक दुई दिनपछि अर्थात् ७ गते मंगलवार बोलाइयो ।
७ गते बैठक हुनुभन्दा पहिला पूर्व एमालेका शीर्षस्थ नेताहरूबीच बालुवाटारमा घनिभूत छलफल भयो । सँगसँगै प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादीका नेताहरू भेला भए । दुवै पक्षले स्कूल विभागमा आफ्नो दाबी पेश गर्ने गरी सहमति गरेर सचिवालय बैठकमा जाने तयारी गरेका थिए । तर बैठक बस्न सकेन ।
बैठकलाई पुनः ९ गते बिहीवारका लागि सारियो । तर त्यो बीचमा पनि कुनै सहमति हुन सकेन त्यसपछि आजका लागि सारिएको थियो ।
आज पनि सहमति नभएकाले बैठक बस्न नसकेको बालुवाटार स्रोतले जनायो ।
यस्तो थियो असार मसान्तको सहमति
असार ३१ गते राति अबेरसम्म बसेको बैठकपछि विभाग, जिल्ला इञ्चार्ज र सह-इञ्चार्जका साथै विभिन्न मञ्च र प्रतिष्ठानबारे सहमति भइसकेको र साउन ५ गते बस्ने सचिवालय बैठकले त्यसलाई आधिकारिकता प्रदान गर्ने महासचिव विष्णु पौडेलको भनाइ थियो ।
नेकपाका ६ वटा महत्त्वपूर्ण विभागमध्ये स्कूल, संगठन, नीति तथा प्रतिष्ठान र विदेश विभाग पूर्व एमालेको भागमा र बाँकी रहेका प्रचार र आर्थिक विभाग पूर्वमाओवादीले लिने मोटामोटी सहमति भएको थियो । अन्य २६ वटा विभागमध्ये १४ वटा विभाग एमालेले राख्ने र १२ वटा विभाग पूर्व माओवादीले नै राख्ने सहमति भएको स्रोत बताउँछ ।
साउन ५ गतेको सचिवालय बैठक बस्नुभन्दा अघि पूर्व एमालेका शीर्षस्थ नेताहरू बालुवाटारमा जम्मा भएका थिए । उनीहरूले विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा वरिष्ठ नेता झलनाथ खनाल, संगठनमा वामदेव गौतम र स्कूलमा ईश्वर पोखरेलको नाम अनौपचारिक रूपमा अघि सारेका थिए ।
ती नामहरू साउन ५ गते बसेको सचिवालय बैठकले अनुमोदन गर्न सकेन । पूर्वमाओवादी समूहले स्कूल विभागमा पोखरेलको नाममा सहमति नजनाएपछि विभागका विषयमा नेकपा अनिर्णित बनेको हो ।
विभागका बारेमा अनिर्णित बनेको नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो भने लगायो । बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि कुनै सहमति नभएको दाबी गरेका थिए ।
‘हाम्रो बीचमा छलफल भइरहेको छ तर विभागका बारेमा अहिल्यै कुनै सहमति र निर्णय भएको छैन,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता श्रेष्ठले सहमतिबारेको समाचारको खण्डन गरेका थिए ।
स्कूल विभाग अध्यक्षद्वयले नै राख्ने तयारी
पेचिलो बनेको स्कूल विभागको विवादकाबीच स्थायी कमिटीका घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरे । वेदुराम तत्कालीन एमालेका स्कूल विभाग प्रमुख थिए भने घनश्याम उपप्रमुख । यद्यपि स्कूल विभागलाई महत्त्वपूर्ण विभाग मानिएकाले सचिवालय वेगर सदस्यको नाममा सहमति हुने सम्भावना न्यून छ ।
पोखरेल र श्रेष्ठ दुवैले आ-आफ्नो दाबी नछाडेपछि विकल्पका रूपमा वरिष्ठ नेता झलनाथ खनालको पनि नाम सतहमा आएको थियो । लोकान्तरसँगको कुराकानीमा खनालले आफूले देश र पार्टी दुवै सम्हालेको अनुभव भएकाले स्कूल विभाग आफ्नो लागि केही नभएको टिप्पणी गरेका थिए ।
यद्यपि खनालको नाममा नीति तथा प्रतिष्ठान विभागमा सहमति भइसकेकाले स्कूल विभाग खनालले लिने विषयमा अध्यक्षद्वयले कुनै छलफल नगरेको स्रोत बताउँछ ।
अन्तिम विकल्पका रूपमा तत्काललाई अध्यक्षद्वयकै मातहतमा स्कूल विभाग राखेर एकता प्रक्रियाका अन्य विषय टुंग्याउने विषयमा सहमति हुन सक्ने बालुवाटार स्रोतले बताएको छ ।