काठमाडौं – अहिले सोह्रश्राद्ध वा पितृपक्ष चलिरहेको छ । पितृपक्षमा पितृहरू धर्तीमा आएर हामीलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ ।
पितृहरू पशुपक्षीको माध्यमले हामीकहाँ आउने र तिनैको माध्यमले भोजन ग्रहण गर्ने गर्छन् । भोजन गरेपछि उनीहरू आफ्ना वंशजलाई आशीर्वाद दिन्छन् ।
त्यसैले पितृपक्षमा पशुपक्षीहरूको सेवा गर्नु जरूरी छ ।
पितृले गाई, कुकुर, काग र कमिला बनेर आहार ग्रहण गर्छन् भन्ने शास्त्रीय मान्यता छ ।
श्राद्धको समयमा यी जीवहरूका लागि आहारको एक अंश छुट्ट्याइन्छ अनि मात्र श्राद्धकर्म पूर्ण मानिन्छ ।
पाँच अंशको अर्पणलाई पञ्चबली भनिन्छ ।
कुकुर जलतत्त्वको प्रतीक हो, कमिला अग्नितत्त्वको, काग वायुतत्त्वको, गाई पृथ्वीतत्त्वको र देवता आकाशतत्त्वको प्रतीक हो । यी पाँचैलाई आहार चढाएर पञ्चतत्त्वप्रति आभार व्यक्त गरिन्छ ।
गाईमा मात्रै एकै ठाउँमा सबै पाँच तत्त्व पाइन्छ । त्यसैले पितृपक्षमा गाईको सेवा विशेष फलदायी हुन्छ । गाईलाई चारा खुवाएर सेवा गर्दा पितृहरूलाई तृप्ति हुन्छ र श्राद्धकर्म सम्पन्न हुन्छ ।