२८ जेठ २०८३, बिहीबार
विकासको आश

बाहिरी चक्रपथमा निर्माण कम्पनी छनौट प्रक्रिया अगाडि बढ्यो, कार्ययोजना माग्ने निर्णय

असोज ६, २०७६
बाहिरी चक्रपथमा निर्माण कम्पनी छनौट प्रक्रिया अगाडि बढ्यो, कार्ययोजना माग्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणका लागि ठेकेदार कम्पनी छनौट प्रक्रिया अगाडि बढेको छ ।

लगानी बोर्ड नेपालले सोमवार चक्रपथ निर्माणका लागि ठेकेदार कम्पनी छनौटका लागि ‘शर्ट लिस्टेड’ गरेको छ । लगानी बोर्डको सोमवारको बैठकले बाहिरी चक्रपथ निर्माणका लागि चीनको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई छनौट सूचीमा समावेश गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि ४ वटा कम्पनीको प्रस्ताव आएकोमा सोमवार बसेको बोर्डको बैठकले त्यसमध्ये एउटालाई मात्रै ‘शर्ट लिस्टेड’ गरेको बताए ।

‘बैठकमा पेश भएका प्रस्तावमध्ये ३ वटा योग्य देखिएनन्, एउटा चाइना कम्युनिकेसन कम्पनी योग्य देखिएकाले त्यसलाई हामीले शर्ट लिस्टेड गरेका छौं,’ उनले भने । लगानी बोर्डले विस्तृत कार्ययोजना प्रस्ताव माग गर्ने र प्रस्ताव उपयुक्त लागेमा ठेक्का सम्झौता गरिने जनाइएको छ ।

बोर्ड बैठकले निर्माण कम्पनी छनौट प्रक्रिया अगाडि बढाएकाले बाहिरी चक्रपथको काम अगाडि बढ्ने आशा जागेको चक्रपथ निर्माणको नियमन गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले भने, ‘लगानी बोर्डबाट निर्णय भएकाले अब बाँकी प्रक्रिया अगाडि बढ्छ ।’

यसअघि आर्थिक वर्ष २०५५/०५६ मा १० वर्षभित्र सडक सञ्चालनमा ल्याउने योजनासहित सडक खण्डको प्रारम्भिक अध्ययन गरिएको थियो । सडक खण्डको डीपीआर २०६५ सालमा बनेको थियो । नेपालकै फूल ब्राइट कन्सल्टेन्सीले डीपीआर तयार पारेको थियो तर निर्माणका लागि कम्पनी छनौट, जग्गा अधिग्रहण लगायतका कारणले चक्रपथ आयोजनाको काम अगाडि बढ्न सकेको थिएन ।

उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणका लागि पहिलो चरणमा सतुङ्गल–चोभार खण्डको जग्गा प्राप्तिका लागि आवश्यक निर्णय गरिदिन भन्दै शहरी विकास मन्त्रालयमा गत वर्ष पत्र पठाएको थियो ।

काठमाडौं उपत्यकाका ३ वटै जिल्लालाई जोड्ने उद्देश्यले बाहिरी चक्रपथ निर्माण गर्ने योजना सरकारले अघि सारेको थियो । ६६ किलोमिटर लम्बाइ रहने बाहिरी चक्रपथको १० खण्डमा काम गर्ने गरी योजना बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्