२१ असार २०८३, आइतबार
संस्कृति

पश्चिम तराईको लोकसंस्कृति : सखियाभित्रको रहस्यलीला र दशैंको रौनक

असोज ११, २०७६
पश्चिम तराईको लोकसंस्कृति : सखियाभित्रको रहस्यलीला र दशैंको रौनक

धनगढी – कैलालीको कैलारी गाउँपालिका–३ उत्तरभर्री गाउँका स्थानीयले असोज ३ गते ‘ट्रासन’ ठोके ।

गाउँको भलमन्सा छोटेलाल चौधरीको नेतृत्वमा धार्मिक अनुष्ठान तथा तान्त्रिक विधिमार्फत मादलको एक किसिमको विशेष ताल (खोट) बजाइ सखिया नाचको सुभारम्भ गरे । 

समरौटी (मंगलाचरण) गाउँदै यसरी नाचको शुभारम्भ गर्ने प्रलचनलाई नै थारु समुदाय ट्रासन ठोक्नु भनिन्छ ।

गाउँका बर्का गुरुवा (प्रमुख तान्त्रिक) र केसौका (सहायक तान्त्रिक) मार्फत देवीदेवताको पूूजा आराधना गरेपछि स्थानीय आजभोलि दशैंभरि नाचिने सखिया नाचको पूर्वाभ्यासमा जुटेका छन् । 

भलमन्सा चौधरीले भने, ‘जुनसुकै कार्य थालनी गर्दा निश्चित विधि र पद्धति हुन्छ । थारु समुदायमा सखिया नाचमा मात्रै होइन, अन्य सांस्कृतिक कार्यक्रम गर्दा समेत समरौटी गाउने र ट्रासन ठोक्ने कार्य गरिन्छ । आजभोलि नाचको अभ्यास धमाधम जारी छ ।’

बेलुका भयो कि ‘फटक ट्वाङ घरौना ..२, ट्वाङ घरौना ..२’ लगायत ताल समेटिएको मादलको आवाज गुन्जिन थालेको छ आजभोलि । अनि सजिलै अनुमान लगाइन्छ थारु वस्तीमा सखिया नाचको पूर्वाभ्यासको ।

दशैं नजिकिँदै गर्दा कैलारी गाउँपालिकाको उत्तरभर्री गाउँमा मात्रै होइन । पश्चिम नेपालको प्रायः थारु बस्तीमा सखियाको अभ्यासले रौनकता थपिएको छ । थारु वस्तीमा दशैंभन्दा १ महिना अगाडिदेखि नै रात्रिको समयमा सखिया गीत र नाच सिकाउने गरिन्छ । मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीति नृत्यको रुपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रिया सिकाइने गरिएको लोकसंस्कृतिविद् अशोक थारु बताउँछन् । तर पछिल्लो समय अनुकूलता र प्रतिकूलतालाई मध्यनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाचको अभ्यासपछि दशैंको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ । 

कैलालीको भादा होमस्टे गाउँमा पनि सखियाको तयारी जारी राखिएको छ । साँझपख केही समय तयारी गरिँदै आएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । भादा होमस्टे गाउँ भएकै कारण त्यहाँ दैनिक आउने पर्यटकको मनोरञ्जनकै लागि भएपनि वर्षैमास सखिया नाचिँदै आएको उनले बताए ।

लोक संस्कृतिविद् थारुका अनुसार दशैंको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवामा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान् श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ । 

सखिया के हो ?

सखिया शब्द ‘सखींआ’बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दशैंको खुशीयालीमा संगिनीहरू आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोक भागवत पुराण हो । दशैंमा थारु जातिका महिलाले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

‘डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र
सखी र डानु री डाडा डरीउना री कहिले
टोही मैं सामिरौं सरस्वती मैयाँ
सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ’

पैंयाँमा कृष्ण र गोपिनीको रासलीला

पुस्तकमा उल्लेख भएअनुसार दशैंको अवधिमा तथा सखिया नाचको बीच–बीचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात् पैंयाँको अर्थ ‘पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरू (युवती) र कृष्ण रुपी मडर्‍या (मादल बजाउने युवा) एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

पुस्तकका लेखक समेत रहेका लोक संस्कृतिविद् थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबीचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारी सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनी टुट
टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।

पछिल्लो समय पैंयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरू समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरू बताउँछन् ।

पैंयाँ २२ प्रकारको हुने भएपनि हाल मडर्‍याहरूले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरू खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरूमा निकै भीड लाग्ने गरेको छ ।

यति मात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दशैंमा मात्रै सीमित नभई यो नृत्य १२ महिना नै विभिन्न सभा, समारोह, महोत्सवको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जसले गर्दा नृत्य व्यावसायिक समेत भएको भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्