२८ जेठ २०८३, बिहीबार

भारतले रोकेपछि प्याजमा कालोबजारी, अनुगमनमा भेटियो मूल्य बढाउन लुकाएको प्याज

असोज १३, २०७६
भारतले रोकेपछि प्याजमा कालोबजारी, अनुगमनमा भेटियो मूल्य बढाउन लुकाएको प्याज

काठमाडौं– प्याज निर्यातमा भारतले रोक लगाएपछि नेपाली व्यापारीले प्याजको कालोबजारी शुरू गरेका छन् ।

आइतवारदेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली व्यापारीले बढी नाफाको लोभमा कालोबजारी शुरू गरेका हुन् ।

प्याज लुकाएर व्यापारीहरूले मूल्य पनि एक दिनमै ३० रुपैयाँभन्दा बढी बढाइसकेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमवार गरेका अुनगमनका क्रममा व्यापारीले प्याजमा कालोबजारी शुरू गरेको पाएको छ ।

अनुगमन टोलीले कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारीले प्याज लुकाएको भेट्टाएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजारको अर्याल आलु प्याज सप्लायर्सको प्याज गोदाममा अनुगमन गर्दा त्यहाँ २ सय बोरा प्याज लुकाइएको भेटिएको अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले जानकारी दिए ।

शुरूमा प्याज व्यापारीले गोदामभित्र प्रवेश गर्न नदिएको र पछि हेर्दा २ सय बोरा प्याज लुकाएको पाइएको अनुगमन अधिकृत श्रेष्ठले जानकारी दिए । 

‘शुरूमा हामीलाई १ सय ५० बोरा प्याज स्टकसहितको कागजात देखिएको थियो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘पछि गोदाम हेर्दा थप २ सय बोरा प्याज भेटियो, त्यसलाई लुकाएको भन्ने कि के भन्ने?’

उक्त पसलले १ सय ७ रुपैयाँ प्रतिकेजीका दरले प्याज खरिद गरेर  १ सय १० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरिरहेको छ । 

मूल्यमा त्यस्तो कुनै खराबी नपाइएपनि आपूुले स्टक राखेको प्याज देखाउन नमानेकाले ती व्यापारीलाई २४ घण्टाभित्र चित्त बुझ्दो जवाफसहित विभागमा उपस्थित हुनका लागि निर्देशन दिइएको अनुगमन अधिकृत श्रेष्ठले बताए ।

अनुगमनको क्रममा ती व्यापारीले खुद्रा बिक्री गरिरहेको ठाउँमा नअटाएकाले २ सय बोरा प्याज गोदाममा राखेको प्रतिक्रिया दिएको श्रेष्ठले जानकारी दिए । 

‘खुद्रा बिक्री गर्ने ठाउँमा पनि गोदाम रहेछ,’ श्रेष्ठले भने, अर्को ठाउँमा पनि गोदाम रहेछ । तर ती व्यापारीले अर्को गोदाम देखाउन मानेका थिएनन्, हामी गएपछि थप २ सय बोरा प्याज त्यहाँ भेटियो ।’ श्रेष्ठका अनुसार खुद्रा बिक्री गरिरहेको ठाउँमा १ सय ५० बोरा प्याज भेटिएको थियो ।

भारतले निर्यातमा गरेको कडाइपछि एकाएक प्याजको मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका लागि कालिमाटीमा ४ वटा टोली अनुगमनका लागि खटाएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्